विगत १८ वर्षदेखि अष्ट्रेलियाको सिड्नीमा मनोचिकित्सकको रुपमा कार्यरत यहाँका डा.घनश्याम चापागाईँ कलिलै उमेरमा आफ्नो सन्तानलाई विदेश नपठाउन सुझाव दिन्छन् । नेपालको पाटन अस्पताल र नेपाल मेडिकल कलेजमा दुई–दुई वर्ष मनोरोग विशेषज्ञको रुपमा काम गरेर अष्ट्रेलिया पुगेका चापागाईँ अहिले सिड्नीको केलिभिलस्थित हिल्स क्लिनिकमा कार्यरत रहेका छन् ।
त्यहाँको मेडिकल स्टाफ काउन्सिल प्रेसिडेण्ट (मेडिकल सुपरिटेण्डेण्ट) का रुपमा कार्यरत चापागाईँको भनाइमा पछिल्ला वर्षमा धेरै विद्यार्थी मनोरोगका कारण ग्रसित हुने गरेका छन् । आफूले दैनिक हेर्ने २१ जना बिरामीमध्ये तीन जना हाराहारी नेपाली हुने गरेको उनले बताए । जसमध्ये धेरै कलिलो उमेरका विद्यार्थी रहने गर्दछन् ।
उदासिनता, दिक्क लाग्ने, आत्तिनेजस्ता डिप्रेसनका समस्या लिएर धेरै आउने गरेको भन्दै उनले भने– “कोही कडा खालको मानसिक रोग लिएर आउँछन् ।” त्यहाँको वास्तविक अवस्था नबुझी पुगेका विद्यार्थी अपेक्षाअनुसार नभएपछि उदासिन हुने गरेको उनको भनाइ छ । उनले भने, ‘आफ्ना छोराछोरीलाई विदेश पठाउनु अघि त्यहाँको सम्भावनाका बारेमा अभिभावकले बुझ्नु जरुरी छ ।’
१२ कक्षा पास गरेर जाने विद्यार्थीमा बढी समस्या हुने गरेको भन्दै उनले कम्तीमा स्नातक उत्तीर्ण गरेर मात्रै अष्ट्रेलिया पठाउन उनले अनुरोध गरे । आफूको मा उपचारका लागि आउने एक तिहाइ विद्यार्थी हुने गरेको भन्दै १८–२० वर्षको उमेरमा परिवारबाट अलग भएर आफ्नो र परिवारको दोहोरो बोझ बोक्नु पर्दा उनीहरूलाई कठिन हुने गरेको डा चापागाईँ बताउँछन् ।
उनले भने, “अभिभावकले बुझ्नुपर्यो, कलेजको शुल्क पनि तिर्नुपर्यो, आफू जाँदा लिएको ऋण पनि तिर्नुपरयो, ती कुरा धान्न नसक्दा विद्यार्थीमा मानसिक समस्या पर्ने गरेको छ ।” कतिपय अभिभावकले आफ्ना छोराछोरीलाई सुधार्नका लागि बाहिर पठाउने गरेको भन्दै उनले नेपालमा कुलतमा फसेकालाई बाहिर पठाउँदा सुध्रनको सट्टामा झन् बिग्रने गरेको बताए ।
अष्ट्रेलियाको सिड्नीको एउटा अस्पतालको अवस्थालाई चित्रण गर्दै उनले सिङ्गो देश र अन्य यस्तै देशमा यही खालका समस्या हुने भएकाले उच्च सावधानी अपनाउन र बुझेर मात्रै आफ्ना सन्तानलाई विदेश पठाउन सुझाव दिए ।