जितको खाता खोले रेशम चौधरीको पार्टीका गंगारामले


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
जितको खाता खोले रेशम चौधरीको पार्टीका गंगारामले

प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ कैलाली–३ मा गंगाराम चौधरीले सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई समेत हराएर विजयी भएका छन्।

जम्मा खसेको ६३ हजार ४ सय ४० मतमध्ये उनले २३ हजार १ सय २० मत पाए।

निकटतम् प्रतिद्वन्द्वी माओवादीका कृष्णकुमार चौधरीले १७ हजार ७ सय ४९ मत पाए।

यस्तै, एमालेका पूर्वमन्त्री समेत रहेका गौरीशंकर चौधरीले ९ हजार ८ सय ७४ मत प्राप्त गरे। राप्रपाका वीरेन्द्र बमले भने ७ हजार ४७ मत प्राप्त गरे।

अब संसदमा टीकापुर घटनाबारेको प्रतिवेदन सार्वजनिक गर्न पहिलो आवाज उठाउने गंगारामको तयारी छ।

‘सदनमा बोलेको अन्तर्राष्ट्रिय समुदायले सुन्छ, ७, ८ वर्ष भइसक्दा किन टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक भएन? भनेर बोल्ने छौं,’ उनले भने।

योसँगै किसानका समस्या, बाढी पीडितका समस्या, बाटो घाटोको विषय,  विकास र रोगजगारका एजेण्डा सुनाएर नागरिकसँग भोट मागेको उनले बताए।

पार्टीले राखेका माग पूरा भए अब बन्ने सरकारमा पनि सहभागिता रहने उनले बताए।

गंगारामको जितमा उनका स्वर्गीय बुवा फुलरामको भूमिका पनि देखिन्छ। भलमन्सा हुँदा जनताका कुरा सुन्ने बुवा फुलराम चौधरी थारु समुदायमा जनप्रिय थिए।

उनी भलमन्सा भएर गाउँमा सबै सामाजिक काममा जनतासँगै उठबस गर्थे।  फुलराम नेपाली कांग्रेसबाट वडा अध्यक्ष भए। त्यो भन्दा माथि जान उनले सकेनन्।

पढाउनुपर्छ भनेर फुलरामले छोरा गंगारामलाई केही बन्नुपर्छ भन्ने सिकाए।

तत्कालीन थापापुर गाउँ विकास समितिको वडा नम्बर ४ र हालको भजनी नगरपालिका–२ मोहनपुरमा जन्मे हुर्केका गंगारम बुबाको प्रेरणाले स्नातकोत्तरसम्म पढे।

केही गैरसरकारी संस्थामा २२ वर्ष काम गरे। यसै क्रममा सर्वसाधारणसँग उनको आउजाउ भयो।

बुवासँगै नेपाली कांग्रेसमा लागेका गंगाराम घरमा आउने नेताहरूसँग पनि चिनजान गरिहाल्थे।

पार्टीबाट मेयर पदमा टिकट पाउन उनको आशा २०७४ सालमा पूरा भएन।

उनी भजनीको मेयर हुन २०७४ सालको स्थानीय तहाको चुनावमा बागी उम्मेदवार उठेका थिए।

उनले त्यसबेला एक हजार दुई सय भोट पाएको बताए।

पछि प्रतिनिधि सभाको चुनावमा रेशम चौधरीले उम्मेदवारी दिएपछि उनी जिताउने अभियानमा लागे। रेशम चौधरी जिताऔं अभियानमा लागेसँगै त्यसबेलाको जनता समाजवादी पार्टीको कैलाली जिल्ला संगठन प्रमुख भए।

रेशमले जिते पनि संसदमा जान पाएनन्। उनले टीकापुर घटना र निर्दोषका पक्षमा बोल्न अरू पार्टीले सहयोग नगरेको महसुस गरे।

पछि आफैं पार्टी खोल्नुपर्ने कुरामा रेशमसँग अघि बढाए।

‘आफ्नै पार्टी दर्ता गर्नुपर्छ भनेर रेशम दायसँग सल्लाह भयो, म पनि केन्द्रीय सदस्य रहें,’ उनले भने।

पार्टी दर्ता भएपछि स्थानीय तहको निर्वाचनमा सहभागी भयो। नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीलाई जेलबाट छुटाउने मुद्दालाई प्राथमिकतामा राख्यो।

योसँगै टीकापुर घटनामा जेलमा रहेका सबैलाई आममाफी हुनुपर्ने माग राख्दै आएको छ। यो मुद्दा बोकेर चुनावमा गएको नागरिक उन्मुक्तिलाई स्थानीय तहमै कैलालीका ४ पालिका प्रमुख बन्न जनमत आयो।

अहिले प्रदेश र प्रतिनिधि सभा सदस्य पदको चुनावमा पनि यो पार्टीबाट उम्मेदवारी दिइयो।

जसमा पार्टी अध्यक्ष तथा रेशम चौधरी पत्नी रञ्जिता कैलाली १ मा र रेशमका बुबा पनि बर्दीया–२ मा उम्मेदवार छन्। नागरिक उन्मुक्तिले निर्वाचनसम्म आइपुग्दा अन्य पार्टी त्याग गरेर आउने धेरै नेतालाई स्वागत गर्ने अवसर पनि पायो।

कैलालीमा १ र २ मा पनि नागरिक उन्मुक्ति पार्टीको सुरूआतदेखि नै अग्रता कायमै छ।