प्रधानमन्त्रीको कार्यभार सम्हालेको ४५ दिनमै उनले राजीनामा घोषणा गरेकी हुन्।
बिहीवार एउटा सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले राजीनामा दिन लागेको बताएकी छन्।
नयाँ उत्तराधिकारी चयन नभएसम्म आफू पदमा रहने पनि उनले उल्लेख गरिन्।
ट्रसले नयाँ नेतृत्व चयनको प्रक्रिया आगामी साताबाटै सुरु हुने बताएकी छन्।
बुधवार राति संसद्को तल्लो सदन हाउस अफ कमन्समा फ्र्याकिङ भनिने तेल उत्खनन प्रक्रियासम्बन्धी मतदानको क्रममा देखिएका नाटकीय दृश्यहरू पछि नै उनको राजीनामाको चर्चा उठेको थियो। त्यसपछि त्यस्तो माग झन् चर्को हुँदै गएको थियो।
प्रमुख विपक्षी दल लेबरका नेता कीअर स्टारमरले अब लिज ट्रसले राजीनामा दिएपछि देशमा नयाँ आम निर्वाचन हुनुपर्ने माग गरेका छन्।
बीबीसीका प्रमुख राजनीतिक सम्वाददाता निक इयरड्ली भन्छन्:
“हिजो मात्र उनले आफू एक लडाकु भएको बताएकी थिइन्। तर सरकार, संसद् र कन्जरभेटिभ पार्टीमा यस्तो भद्रगोल खडा भयो कि उनले अब योभन्दा अघि बढ्न नसक्ने अवस्थामा आफूलाई पाएको हुनुपर्छ। अब जे हुन्छ त्यो आधुनिक समयमा ब्रिटेनमा देखिएको सबैभन्दा तीव्र गतिको सत्ता फेरबदलको घटना हुनेछ। यो अभूतपूर्व परिस्थिति हो र ब्रिटिश राजनीतिको एउटा अभूतपूर्व सङ्कट।”