नवौं वृहत राष्ट्रिय खेलकुद


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
नवौं वृहत राष्ट्रिय खेलकुद

कीर्तिमान सुधार गर्दै नासिरले जिते स्वर्ण

 नेपाली सेनाका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुदअन्तर्गतकाे २२औं राष्ट्रिय पौडी च्याम्पियनसिपमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्दै स्वर्ण पदक जितेका छन् । 

नासिरले १५ सय मिटिर फ्रि-स्टायलमा काठमाडाैंमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुदमा कायम गरेको १७ मिनट ४९.९५ सेकेन्ड समयमा सुधार गर्दै १६ मिनेट ५०.२१ सेकेन्डको नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका हुन् ।

साथै, उनले नवौं राष्ट्रिय खेलकुदमा पौडीतर्फ पहिलो स्वर्ण पदक पनि जितेका छन् । दोश्रो स्थानमा रहेको एनआरएनएका आशिष सापकोटाले पनि नासिरले दक्षिण एशियाली खेलकुदमा स्थापित गरेको रेकर्डलाई उछिनेका थिए । सापकोटाले १६ मिनट ५७.९५ को समयमा दूरी पार गरेका थिए । उनले रजत पदक प्राप्त गरे । तेश्रो स्थानमा पुलिसका सुनिलकुमार थापा मगर रहे । उनले काँस्य पदक प्राप्त गरे ।

डुवानाले पनि राखे नयाँ कीर्तिमान 
पोखराको विरौटास्थित फिसटेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतियोगितामा सेनाकी डुवाना लामाले आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भएकी छिन् ।

उनले २०० मिटर व्यक्तिगत मिड्लेतर्फ गौरीका सिंहले नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा कायम गरेको २ मिनट ३२ सेकेन्डको समयलाई पछाडी पार्दै २ मिनेन ३१.४६ सेकेन्डको नयाँ समयको कीर्तिमान कायम गरिन् । यो उनले हिट चरणमा कायम गरेको समय हो ।

सटपुटमा पुलिसकी चन्द्रकलालाई स्वर्ण पदक

 एथ्लेटिक्सको महिला सटपुटमा नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले स्वर्ण पदक जितेकी छिन् ।

पोखरा रंगशालामा शनिबार भएको खेलमा १२.४० मिटरको दूरीसहित एथ्लेटिक्समा पुलिसलाई पहिलो स्वर्ण जिताएकी हुन् ।

१०.८३ मिनेटसहित लुम्बिनी प्रदेशकी संगिता अधिकारीले रजत पदक जितिन् । ९.८६ मिटर दूरीसहित पुलिसकै बसन्ती चौधरीले काँस्य पदक जितेकी छन् ।

१५ सय मिटरमा मुकेश र फुलमतिलाई स्वर्ण

 एथ्लेटिक्सको १५ सय मिटर दौडमा महिलातर्फ फुलमति राना र पुरुषतर्फ मुकेश पालले स्वर्ण पदक जितेका छन् । महिलातर्फ १५ सय मिटरमा दौडमा सशस्त्र प्रहरी बलकी फूलमतिले स्वर्ण पदक जितेकी छन् । फूलमतिले विभागीय एपिएफको लागि एथ्लेटिक्सको पहलो स्वर्ण जितिन् ।

फुलमतिले ४ मिनेट ३८.१९ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । यस्तै, त्रिभुवन आर्मी क्लबकी सरस्वति भट्टराईले ४ मिनेट ४१ सकेन्डमा निर्धारित दूरी पार गर्दै रजत पदक जितिन् । ५ मिनेट ०३.८० सेकेन्डमा निर्धारित दूरी पार गरेकी आर्मीकै रेखा लिम्बुले कास्य जितिन् ।पुरुषतर्फको दौडमा त्रिभुवन आर्मी क्लबका मुकेशले स्वर्ण पदक जिते । मुकेशले निर्धारित दूरी ३ मिनेट ५२.२१ सेकेन्डमा पूरा गरे ।

एपिएफका अजित यादवले ३ मिनेट ५३.११ सेकेन्डमा निर्धारित दूरी पार गर्दै रजत पदक जितेका छन् । नेपाल पुलिस क्लबका नागेश्वर अहिर ३ मिनेट ५६.५ सेकेन्डमा दूरी पार गर्दै कास्य जित्न सफल भए ।महिला १० हजार मिटरमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्णपदक जितेकी छिन् ।

सन्तोषीलाई १० हजार मिटरमा स्वर्ण पदक

काठमाडौं, २९ असोज । नवौं बृहत राष्ट्रिय खेलकुदको एथ्लेटिक्सतर्फ महिला १० हजार मिटरमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् ।

पोखरा रंगशालामा शनिबार बिहान भएको दौडमा १३औं दक्षिण एसियाली खेलकुद (साग)की समेत स्वर्ण पदक विजेता रहेकी सन्तोषीले बागमती प्रदेशलाई एथलेटिक्सतर्फ पहिलो स्वर्ण जिताएकी हुन् ।

सन्तोषीले निर्धारित दूरी ३६ मिनेट १२.२९ सकेन्डमा पूरा गरिन् । यस्तै, नेपाल पुलिस क्लबकी राजपुरा पछाईले रजत तथा सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी पुष्पा भण्डारीले कास्य पदक जितेकी छन् ।

राजपुराले ३६ मिनेट २९ सकेन्डमा पूरा गरेकी थिइन् । कास्य विजेता पुष्पाले ३७.०४ सकेन्डमा निर्धारित दूरी पार गरेकी थिइन् ।

बिहान नै भएको पहिलो स्पर्धाको महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।