अस्ट्रेलियाले कोभिड महामारीबीच अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिएको पूर्णकालीन काम गर्ने अधिकार कटौती गरेको छ। यहाँको गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आगामी आर्थिक वर्षबाट अन्तर्राष्ट्रिय विद्यार्थीलाई तोकिएको समयसम्म मात्र काम गर्न दिने निर्णय गरेको छ। यो सँगै अबको आर्थिक वर्षदेखि अस्ट्रेलियामा अध्ययनका लागि आउने अन्तर्राष्ट्रिय विद्यार्थीलाई दुई सातामा ४० घण्टा काम गर्न पाउने भएका छन्।
कोरोना कहरले कामदारको चरम अभाव भोगिरहेको बेला अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई काम गर्ने हदबन्दी हटाएको थियो। लामो समयसम्म भएको सीमाबन्द, कोरोना संक्रमणका कारण कामदारको नियमित अभाव भएकाले सरकारले विद्यार्थीलाई पूर्णकालीन काम गर्न पाउने अधिकार दिएको थियो।
गृह मन्त्रालयको अध्यागमन तथा नागरिकता विभागले एक सार्वजनिक सूचना जारी गर्दै कोरोना समयमा दिएको उक्त अधिकार आगामी सन् २०२३ जुन ३० पछि बन्द गरिने स्पष्ट पारेको छ।
मन्त्रालयद्वारा जारी गरेको विज्ञप्ति अनुसार विद्यार्थीलाई विद्यार्थी भिसाका सबै नियमलाई पालना गर्न आग्रह गरिएको छ। यस्तै शिक्षण संस्थामा सन्तोषजनक अध्ययनको प्रगति, कक्षा उपस्थिति हुनुपर्ने उल्लेखसमेत गरिएको छ।