आशा जगाउने केन्या टूर, ब्याटिङमा सुधार जरुरी


[ss_social_share]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
आशा जगाउने केन्या टूर, ब्याटिङमा सुधार जरुरी

२२ भदौ, काठमाडौं । नवनियुक्त प्रशिक्षक मनोज प्रभाकरको प्रशिक्षणमा पहिलो टूर केन्या पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली दुईवटा ट्रफी लिएर बुधबार बिहानै घर फर्कियो ।

प्रभाकरका लागि यो टूर उपाधिभन्दा पनि नेपाली खेलाडीहरुलाई नजिकबाट चिन्ने अवसर थियो । पाँच टी–२० र तीन एकदिवसीयमा उनले भ्रमणमा रहेका सबै १६ खेलाडीलाई अवसर दिए ।

नेपाली ब्याट्सम्यानहरुमा टेक्निकको अभाव रहेको निष्कर्षका साथ प्रशिक्षण थालेका उनले टी–२० र एकदिवसीय दुवैमा ओपनिङदेखि ब्याटिङ क्रमहरु परीक्षण गरे । टी–२० मा आसिफ शेख र पवन सर्राफ, पवन र अर्जुन साउद हुँदै अर्जुन साउद र ज्ञानेन्द्रले ओपनिङ गरे । एकदिवसीयमा आसिफ र अर्जुन, अर्जुन र देवले ओपनिङ गरे । मध्यक्रममा पनि उनले खेलाडीहरु परिवर्तन गरे ।

टोलीका अनुभवी खेलाडी ज्ञानेन्द्र मल्लका अनुसार प्रशिक्षक प्रभाकर बेसिक क्रिकेटमा फोकस भएका छन् र, टोलीका हरेक खेलाडीलाई व्यक्तिगत जिम्मेवारी दिने गरेका छन् ।

‘उहाँले ‘विकेट नफाल्नू, जसरी हुन्छ खेललाई अन्तिमसम्म लिएर जानू’ भन्नुहुन्छ,’ एकदिवसीय टोलीको कप्तानी गरेका रोहितकुमार पौडेल भन्छन्, ‘सरको प्रशिक्षणमा खेल्न भन्दा पनि सुरुमा कन्डिसन नबुजझ्दा गाह्रो भएको हो ।’

नेपालले सुरुमा टी–२० अन्तर्राष्ट्रियको सिरिज खेलेको नेपालले ५ मध्ये तीन वटा मात्र खेल जित्यो ।

टी–२० मा नेपालले एकरुपको प्रदर्शन गर्न सकेन । चौथो टी–२० मा १०२ रनको लक्ष्य समेत पूरा गर्न सकेन । सुरुका खेलहरुमा केन्याको माहोलमा अनुकुल हुन नसकेको रोहितकुमार बताउँछन् ‘टी–२० मा ब्याटिङ राम्रो भएन, एकदिवसीयको तीनवटै खेलमा ब्याटिङ राम्रो भयो,’ रोहितकुमारले भने, ‘सुरुमा हामीलाई त्यहाँको कन्डिसनमा भिज्न गाह्रो भएको थियो ।’

एक दिवसीय क्रिकेटको ट्रफीसँगै नेपाली टिम ।

एकदिवसीय शृंखला भने नेपालले ३–० ले क्लिनस्वीप ग¥यो । आशिफ शेखले एक शतक र एक अर्धशतक बनाए, डेब्युटेन्ट अर्जुन साउदले ओपनिङमा सम्भावना देखाए र पूर्वकप्तान ज्ञानेन्द्रले आफ्नो पुनरागमनलाई सार्थक तुल्याए ।नेपालले एकदिवसीयको पहिलो खेलमा २१९ रनको लक्ष्य पूरा गर्दा दोस्रो खेलमा पहिले ब्याटिङ गर्दै २३० रन बनाएर रक्षा गरेको थियो । तेस्रो खेलमा नेपालले २५० भन्दा माथिको लक्ष्य पनि पूरा गरेको थियो ।

कप्तान सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिग सीपीएल खेल्न जमैका गएपछि एकदिवसीयको कप्तानी गरेका रोहितकुमार भन्छन्, ‘केन्या राम्रो विपक्षी हो । दुई÷तीन जना अनुभवी खेलाडीहरु थिए । यसले गर्दा हाम्रो बलिङ लाइन पनि चेक भयो ।’

राष्ट्रिय टिमका पूर्व बलर शक्ति गौचन नेपालको केन्या भ्रमण एकदिवसीय क्रिकेटका लागि फलदायी भएको मान्छन् । ‘युवा खेलाडीहरुले सम्भावना देखाएका छन्, अनुभवी खेलाडीहरु पनि चाहिन्छ भन्नेभयो । एकदिवसीयको यही प्रदर्शन कायम राख्न सक्यो भने पछि आउने खेलमा राम्रो हुन्छ,’ गौचन भन्छन् ।

ज्ञानेन्द्रको पुनरागमन

६ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गरेका पूर्व कप्तान ज्ञानेन्द्रले धेरै हदसम्म आफूलाई प्रमाणित पनि गरे । ओपनिङ र मध्यक्रम गरी दुई पोजिसनमा ब्याटिङ गरेका उनी टी–२० अन्तर्राष्ट्रिय शृंखलामा अर्धशतक बनाउने एक्ला खेलाडी हुन् ।

म्यान अफ द म्याच ट्रफी लिँदै ज्ञानेन्द्र ।

‘आफ्नो प्रदर्शनभन्दा पनि ड्युटी हो । मैले ड्युटी निभाएको हुँ । टिमको लागि खेल्ने हो । जितका लागि खेल्ने हो । त्यसमा योगदान गर्न पाउँदा खुशी नै लाग्छ,’ ज्ञानेन्द्र भन्छन् ।

पछिल्लो एक दशकदेखि राष्ट्रिय टिमको नियमित सदस्य रहेका ज्ञानेन्द्र ६ महिनादेखि टिमबाहिर थिए । ६ महिनापछि खेल्दा सुरुमा केहि अप्ठ्यारो महशुस गरेको भन्दै उनले भने, ‘सुरुमा अलिकति अफ्ठ्यारो हुन्छ नै । त्यही पनि टिममा सबैजना खेलाडी भाइहरु छन् । तर, सबैलाई विश्वास थियो । सहज नै रह्यो ।’

अर्जुनको उदय

केन्या भ्रमणबाट नेपालको उपलब्धी भनेको युवा विकेटकिपर व्याटर अर्जुन साउदको प्रदर्शन पनि हो । यू–१९ राष्ट्रिय टिमबाट एसिया कप खेलेका उनी पहिलो पटक राष्ट्रिय टिममा परेका थिए । केन्यामा सुरुको दुई खेल डगआउटमा बसेर हेरेका उनले बाँकी खेलमा अवसर पाउँदा आफूलाई प्रमाणित गरे देखाए ।

उनले टी–२० अन्तर्राष्ट्रिय डेब्यु खेलमै राम्रो प्रदर्शन गरे । अन्तिम टी–२० खेलमा ज्ञानेन्द्र र अर्जुनले ओपनिङ गर्दै अर्धशतकीय साझेदारी गरेका थिए । टी–२० मा ३५, ६ र २९ रन बनाएका अर्जुनले एकदिवसीयमा दुई अर्धशतक प्रहार गरे ।

एकदिवसीयको पहिलो खेलमा आसिफ शेखसँग ओपनिङ गर्दै शतकीय साझेदारी गरे । आफूले पनि अर्धशतक बनाए । विकेट किपिङको भूमिका पनि राम्रोसँग निभाए । दोस्रो म्याचमा ५ रनमा आउट भएका उनले अन्तिममा ५८ रन बनाए । ‘अर्जुनलाई विश्वास गरेर ओपनिङ गराइएको थियो । उनले राम्रो प्रदर्शन पनि गरे,’ अर्जुनको तारिफ गर्दै रोहितकुमारले भने ।

कप्तान सन्दीपबाट डेब्यु क्याप लिँदै अर्जुन ।

मुम्बईमा जन्मेर उतै क्रिकेट सिकेका अर्जुनले नेपाल आएर खेल्न थालेको तीन वर्ष मात्र भयो । घरेलु प्रतियोगिता र यू १९ एसिया कपपछि उनी राष्ट्रिय टिममा परेका हुन् । ‘सानो उमेरमै यति अनुभवी लिएर टिमलाई चाहिने अनुसार आफूलाई लिएर जानु भनेको राम्रो हो,’ पूर्व कप्तान ज्ञानेन्द्रले भने ।

पूर्वस्टार शक्ति गौचन अर्जुनबारे अहिले नै टिप्पणी गरिहाल्न हतार हुने बताउँछन् । यद्यपि अर्जुनले राम्रो सम्भावना देखाएको भन्दै गौचनले भने, ‘अर्जुनले पहिलो एकदिवसीयमै ५० रन बनायो । बसिर अहमदले पनि राम्रो अलराउण्डरको भूमिकामा सम्भावना देखाएको छ । यसले बेञ्च राम्रो भएको देखाउँछ ।’

साथै केन्या भ्रमणमा कप्तानका रुपमा रोहितको पनि परीक्षण भयो । सन् २०१८ मा राष्ट्रिय टिमबाट डेब्यू गरेका रोहित पछिल्लो दुई वर्षदेखि एकदिवसीय क्रिकेटमा नेपालबाट सर्बाधिक रन बनाउने ब्याटर हुन् । उनलाई गत वर्ष क्यानले उपकप्तान नियुक्त गरेको थियो । सन्दीपको अनुपस्थितिमा टोलीको नेतृत्व सम्हाल्ने अवसर पाएका रोहितले आफ्नो नेतृत्वदायी क्षमता देखाएका छन् ।

‘सुधार आवश्यक छ’

केहि सकारात्मक सन्देशका बाबजुद केन्यामा नेपालको प्रदर्शनबाट शतप्रतिशत सन्तुष्ट हुने ठाउँ छैन । टी–२० अन्तर्राष्ट्रिय शृंखला जितेर पनि वरीयतामा दुई स्थान तल जानुलाई सन्तोषजनक मान्न सकिँदैन । यो नतिजाले नेपालको सन् २०२४ को विश्वकपमा सिधा छनोट हुने लक्ष्यमा धक्का लागेको छ ।

खेलाडीहरुको प्रदर्शनले भने आशा जगाएको छ । ‘टिम कम्बिनेसन मिलिरहेको छ । टिमले जितिरहेको छ । तर विशेष गरी ५० ओभरमा अझै राम्रो गर्न सकिन्थ्यो होला,’ पूर्व कप्तान समेत रहेका ज्ञानेन्द्रले भने, ‘हामीले शतप्रतिशत प्रदर्शन गर्न सकेका छैनौं । विशेष गरी ब्याटिङकै सुधारमा केन्द्रित हुनुपर्नेछ ।’

रोहितकुमार पनि नेपालको ब्याटिङ र डेथ ओभर बलिङमा अझै कमजोरी रहेको स्वीकार्छन् । ‘बलिङतर्फ मिडिल ओभरमा ‘विकेट टेकिङ’ विकल्प भएन । डेथ ओभरमा ‘एक्जुकेसन’ पक्ष सुधार गर्नुपर्नेछ,’ स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै रोहितकुमारले भने, ‘सुरुवाती बलिङ राम्रो छ । ब्याटिङमा अझै धेरै काम गर्नुपर्नेछ ।’

प्रशिक्षक कलाम अलीले नयाँ खेलाडीको अवसर पाएको र नेपालका लागि केन्या टुर राम्रो प्राक्टिस भएको बताए । ‘नयाँ खेलाडीले अवसर पाए, नेपालका लागि राम्रो प्राक्टिस म्याच भयो । यस्तो प्रदर्शनले कन्फिडेन्स बढ्छ,’ उनले भने ।

रुपन्देहीमा क्रिकेट एकेडेमी सञ्चालन गरिरहेका गौचनको सुझाव छ, राष्ट्रिय टिमको बेञ्च बलियो बनाउन टिम ‘ए’ बनाउनुपर्छ र योजना बनाएर अघि बढ्नुपर्छ ।’