४ भदौ, काठमाडौं । ह्यारी केनको एक मात्र गोलको मद्दतमा शनिबार टोटनहमले प्रिमियर लिगमा वल्भ्सलाई १-० ले पराजित गरेको छ ।
सिजनको दोस्रो जितपछि टोटनहम शीर्ष स्थानमा उक्लेको छ । ३ खेलबाट टोटनहमको ७ अंक छ । शनिबार राति बर्नमाउथलाई हराएमा आर्सनल शीर्ष स्थानमा उक्लनेछ ।
घरेलु मैदानमा टोटनहमलाई जिताउन केनले ६४औं मिनेटमा निर्णायक गोल गरे । उनले इभान पेरिसिकको कर्नरमा हेडमार्फत गोल गरेका हुन् ।
यो गोलसँगै २९ वर्षीय केन प्रिमियर लिगमा एउटै क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडी समेत बनेका छन् । केनले टोटनहमका लागि १८५ औं गोल गरेका हुन् । उनले म्यानचेष्टर सिटीका पूर्व फरवार्ड सर्जियो अग्युएरोलाई पछि पारे । अग्युएरोले सिटीका लागि १८४ गोल गरेका थिए ।
यस्तै केनले टोटनहमका लागि सबैखाले प्रतियोगितामा गरी २५० गोल गरेका छन् । यसैगरी केन प्रिमियर लिगमा सर्वाधिक गोल गर्नेमा चौथो खेलाडी हुन् । एलान सियररले सर्वाधिक २६० गोल गरेका छन् भने वायन रुनीले २०८ र एन्ड्रु कोलले १८७ गोल गरेका छन् ।