सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक भएको २ मिनेट ५५ सेकेन्डको ट्रेलरमा तीन पात्र (पूजा शर्मा, सोनम तोप्देन र आकाश श्रेष्ठ) को प्रेम जीवनमा आउने उतार-चढावलाई प्रस्तुत गरिएको छ । प्रेमिल र वियोगान्त संवादलाई प्राथमिकता दिइएको ट्रेलरमा फिल्मप्रति दर्शकको उत्सुकता जगाउन सक्ने ल्याकत देखिन्छ ।
भदौ १७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा पूजा, सोनम र आकाशसँगै गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारहरुको पनि अभिनय छ । गायक समेत रहेका सोनमले यही फिल्मबाट अभिनेताको रुपमा डेब्यू गर्दैछन् । फिल्मका लागि पूजा शर्माले सोनमलाई रोजेकी हुन् । एवि इन्टरनेशनलको ब्यानरमा निर्माण भएको फिल्मको कथा महेश दवाडीले लेखेका हुन् ।
सौरभ लामाको छायांकन, अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु र जेम्स प्रधानको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको फिल्मको निर्मातामा अमित बस्नेत, सह-निर्मातामा परी राना र अजितकुमार थापा, कार्यकारी निर्मातामा सनिस खकुरेल र अंकित गौतम छन् । कोरोनाका कारण प्रदर्शनमा ढिलाई भएको फिल्मको प्रायः छायांकन यूकेमा भएको हो ।