काठमाडौं,१७ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १७ वटा अस्पतालमा कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) को उपचार उपचार निशूल्क गर्ने निर्णय गरेको छ। कोभिड–१९ सङ्क्रमितको उपचार बापत ती अस्पतालहरूलाई बिरामीको अवस्थाको आधारमा अनुदान दिने व्यवस्था गरिएको हो।
स्वास्थ्य मन्त्रालयको असार ३१ को निर्णय अनुसार कोभिड–१९ सङ्क्रमणको मध्ययम अवस्था (मोडरेट केस) र गम्भीर अवस्था (सिभियर केस) भएका बिरामीहरूको १७ वटा अस्पतालमा उपचार गर्दा उपचार शुल्क तिर्न नपर्ने मन्त्रालयले जनाएको छ।यसरी कोरोना सङ्क्रमितको निःशुल्क उपचार गरिने अस्पतालमा प्रदेश–१ को विराटनगरस्थित कोसी अस्पताल र धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई तोकिएको छ। मधेश प्रदेशमा जनकपुरको जनकपुर प्रादेशिक अस्पताल र वीरगन्जको नारायणी अस्पताल छन्।
त्यसैगरी बागमती प्रदेशमा टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, चितवनको भरतपुर अस्पताल, काठमाडौँको वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल, ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सङ्क्रमितको उपचार निःशुल्क गर्ने अस्पतालका रूपमा तोकिएको छ।
गण्डकी प्रदेशमा पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बागलुङको धौलागिरि अस्पतालमा निःशुल्क उपचार हुने भएको छ। लुम्बिनी प्रदेशको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र नेपालगन्जको भेरी अस्पतालमा सङ्क्रमितको निःशुल्क उपचार गर्ने अस्पतालका रूपमा तोकिएको छ।
त्यसैगरी कर्णाली प्रदेशको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीरेन्द्रनगरको सुर्खेत प्रादेशिक अस्पताललाई कोरोना सङ्क्रमितको निःशुल्क उपचार गर्ने अस्पतालका रूपमा तोकिएको छ। सुदूरपश्चिम प्रदेशको सावालमा कोरोना सङ्क्रमितको निःशुल्क उपचार गर्ने अस्पतालका रूपमा डडेलधुरास्थित डडेलधुरा अस्पताल र
कैलालीको सेती प्रादेशिक अस्पताललाई स्वास्थ्य मन्त्रालयले तोकेको छ। पछिल्लो केही सातायता कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेको छ। त्यसैगरी स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो साता कोरोना सङ्क्रमणका कारण दैनिक जसो मृत्यु भइरहेको देखिएको छ। काठमाडौँ र ललितपुर सङ्क्रमणको रेडजोनमा पुगिसकेका छन्। पाँच सय भन्दा बढी सङ्क्रमित भएको जिल्लालाई सरकारले रेड जोनका रूपमा लिन्छ।