कञ्चनपुर,१० साउन । कञ्चनपुरको डोकेबजारदेखि बेलौरी र बेलडाँडी हुँदै दैजी जोड्ने हुलाकी सडक निर्माण दोब्बर समय थप्दा पनि सकिएको छैन् । सडक निर्माण सुरु भएको ६ वर्ष भएपनी ४ पटक म्याद पनि थप भयो तर काम भने करिब ६० प्रतिशत मात्रै सकिएको छ ।कञ्चनपुरमा हुलाकी सडक निर्माणको काम २०७३ फागुनदेखि सुरु भएको हो । ६२ किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो ।डोकेबजारदेखि बेलौरीको बुटाबारीसम्मको पहिलो खण्डमा अब १ किलोमिटर मात्रै कालोपत्र गर्न बाँकी छ । तर बुटाबारीदेखि बेलडॉडीसम्म दोस्रो र बेलडाँडीदेखि दैजीसम्मको तेस्रो खण्डमा ९.५/९.५ किमि मात्रै कालोपत्रे भएको छ । गत आर्थिक वर्षको प्रगति नगन्य नै रह्यो । ‘एक वर्षमा जम्मा अढाई किमि कालोपत्र हुनुबाहेक अरु काम भएको छैन,’ हुलाकी सडक आयोजना धनगढीका इन्जिनियर पदम मडैले भने, ‘गत वर्ष नै सकिएको म्याद पनि थप भएको छैन ।’ उनका अनुसार आयोजनाले पटक–पटक ताकेतासँगै निर्माण कम्पनीलाई कालोसूचीमा पनि राख्ने तयारी पनि गरेको थियो । तर, सरकारले निर्माण कम्पनीलाई नै बल पुग्ने गरेर खरिद नियमावली संशोधन गरेपछि आयोजना पछाडि हटेको हो । संशोधित खरिद नियमावलीमा नियमावली लागू हुनुभन्दा अगाडि वा असार मसान्तमा म्याद सकिने ठेक्काको म्याद थप एक वर्ष हुने व्यवस्था छ । पहिलो खण्डअन्तर्गत डोकेबजारदेखि बुटाबारीसम्मको २० किमिमध्ये १९ किमि सडक कालोपत्र भइसकेको छ । दोस्रो खण्डअन्तर्गत बुटाबारीदेखि बेलडॉडीसम्मको २० किमिमध्ये साढे ९ किलोमिटर कालोपत्र भएको छ । बेलडॉडीदेखि दैजीसम्मको तेस्रो खण्ड (२२ किमि) मा पनि साढे ९ किलोमिटर मात्रै कालोपत्र भएको छ । पहिलो र तेस्रो खण्ड निर्माणको ठेक्का शर्मा–राजेन्द्र जेभीले पाएको हो । पहिलो खण्डका लागि ३६ करोड ४७ लाख र दोस्रो खण्डका लागि ४८ करोड ५७ लाख रुपैयाँमा २०७३ फागुनमा ठेक्का सम्झौता भएको थियो । काममा ढिलाइ भएको भन्दै गत वर्ष बेलौरी क्षेत्रका स्थानीयले सार्वजनिक स्थलमा ठेकेदारको तस्बिर राखेर विरोध जनाएका थिए । उनीहरूले ठेकेदार हराएको भन्दै खोजी गरेर कारबाही गर्न भन्दै सांकेतिक विरोध गरेका थिए । दोस्रो खण्डको सडक निर्माण गर्न बाबा हंश निर्माण कम्पनीसँग ४१ करोड ७६ लाख रुपैयाँमा २०७३ पुसमै सम्झौता भएको हो । यो खण्डअन्तर्गतको बेलौरी नगरपालिका–८ पचुई क्षेत्रमा भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले डेढ किलोमिटर सडक दशगजामा पर्ने भन्दै अवरोध गरेको छ भने यसबाहेक अन्यत्र अवरोध छैन । तर, निर्माण कम्पनीले पछिल्लो डेढ वर्षदेखि काम ठप्प पारेको छ । ‘डेढ किमि सडकबाहेक अन्यत्र कतै अवरोध वा विवाद केही पनि छैन,’ इन्जिनियर मडैले भने, ‘अहिले त काम पनि भएको छैन, म्याद पनि थपिएको छैन । नियमावलीले नै म्याद थप भयो । नियमित काम भएमा सकिन एक वर्ष पनि लाग्दैन ।’ हुलाकी सडक निर्माणको ठेक्का सम्झौता हुँदाका तुलनामा अहिले पेट्रोलियम पदार्थसँगै अलकत्रालगायत अन्य निर्माण सामग्रीको मूल्यवृद्धि भएका कारण निर्माण कम्पनीहरूले काम गर्न आनाकानी गरिरहेको उनको भनाइ छ ।कान्तीपुरबाट भवानी भट्ट