धनगढी,१० साउन । डडेल्धुराको परशुराम नगरपालिकाले अनलाइन तालिममा खाजा तथा तालिम सामग्रीमा ५५ हजार बढी खर्च गरेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा नगरपालिकाले रमेशबहादुर साउदको नाममा गएको पेश्की फछ्यौटमा यस्तो खर्च राखेको विवरण उल्लेख गरेको छ।
सुदूरपश्चिम प्रदेशको आर्थिक कार्यविधि नियमावली, २०७६ को नियम ३७(३) बमोजिम सरकारी रकम भुक्तानी गर्दा बिल भरपाईसहित अन्य प्रमाण राख्नुपर्ने व्यवस्था छ। तर साउदले अनलाइन तालिममा फ्लेक्स ब्यानर, डायरी र कलम, पेन ड्राइभ तथा खाजा र खाना खुवाएको बिल नगरपालिकामा पेश गरेको पाइएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।
साउदले अनलाइन तालिममा १ हजार ५०० को फ्लेक्स ब्यानगर, ८ हजार ८३५ को डायरी र कलम, १२ हजारको पेन ड्राइभ र ४६ हजार ८४५ को खानाखाजा गरी ६९ हजार २ सय रकम खर्च गरेको भन्दै नगरपालिकाले सोही अनुसारको भुक्तानी गरेको छ। उक्त भुक्तानी नियमविपरीत भएको भन्दै असुलउपर गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयले जनाएको छ।