धनगढी,८ साउन । सुदूरपश्चिममा डिपार्टमेन्ट र मार्ट बिस्तार भएसङ्गै उपभोक्तामा किनमेलमा परिवर्तन आउन थालेको छ । सुदूरपश्चिमको स्थायी राजधानीमा मार्ट तथा डिपार्टमेन्ट स्टोरहरु खुलेसङ्गै उपभोक्तामा किनमेलमा परिवर्तन आउन थालेको हो ।
जेठ २७ गते धनगढी उपमहानगर–३ बोराडाँडीमा १ अर्वको लागतमा भाटभटेनी सुपरमार्केटको २३ औं शाखा विस्तार गरेसङ्गै अहिले उपभोक्ताको रोजाई बनेको छ । एउटै छानामुनी उपभोक्तालाई सबै वस्तु तथा सेवा उपलब्ध हुने भएकाले ग्राहकको रोजाइमा डिपार्टमेन्ट स्टोर पर्न थालेका छ । उपभोक्तालाई ग्राहकलाई विभिन्न अफर, सामाग्रीमा ग्यारेण्टी दिने, मुल्यमा बार्गेनिङ नहुने गुणस्तरीय सामाग्री हुने,बजारमुल्य भन्दा सस्तो अनि नि:शुल्क डेलिभरीको ब्यबस्था हुने भएकाले कैलाली लगायत सुदूरपश्चिमका अन्य जिल्लाबाट पनि ग्राहक आउने गरेको भाटभटेनी सुपर स्टोरका व्यवस्थापक विनोद भट्टराईले बताए । इलेक्ट्रोनिक सामान बजार भन्दा सस्तो अनि महेन्द्रनगर टीकापुरसम्म फ्री होम डेलिभरीको सुबिधा रहेको छ । भाटभटेनीमा धनी मात्र नभई मध्यमवर्गका ग्राहक पनि आउने गरेको उनले बताए ।
एउटै छानामुनी सबै सामान पाइने, सामान किन्न नगद बोक्नु नपर्ने डेविट वा क्रेडिट कार्डबाट भुक्तानी गर्न पाइने सुविधाले पनि ग्राहकको रोजाई भएको उनले बताए । इलेक्ट्रोनिक समान खरिदमा २० प्रतिशत र अन्य समान खरिदमा १० प्रतिशत छुट व्यवस्था रहेको भाटभटेनी सुपरमार्केटले जनाएको छ ।
भाटभटेनी सुुपर मार्केट स्टोरमा दैनिक उपभोग्य बस्तु, तरकारी, भाडाकुँडा, बच्चाका खेलाउनाका सामान , लत्ताकपडा , जुत्ता , फर्निचर, इलेक्ट्रोनिक समान (टिभि फ्रीज, वासिङमेसिन) लगायत एकैठाउँमा बजारकै मूल्यमा उपलब्ध रहेको भाटभटेनी सुपर स्टोरका व्यवस्थापक विनोद भट्टराईले बताए ।
भाटभटेनीमा सार्वजनिक बिदाका दिन ३० हजारको आसपासमा र अन्य बारमा १० हजार आसपास ग्राहक किनमेलका लागि आउने गरेको भाटभटेनी सुपर स्टोरका व्यवस्थापक भट्टराईले बताए ।
भाटभटेनीमा स्वदेशी तथा स्थानिय उत्पादन बस्तुलाई र स्वरोजगारलाई विशेष प्राथमिकता दिएको उनले बताए ।किसानले सिधै उत्पादन वस्तु उपलब्ध गराएको खण्डमा स्थानीय उत्पादनलाई पहिलो प्राथमिकता दिने बताए ।