दार्चुला,७ साउन । अहिले दार्चुलामा एचआइभी सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ । गत वर्ष तीनजना एचआइभी सङ्क्रमित थपिएका छन् । भारतसँग सिमाना जोडिएकाले पनि दार्चुलामा एचआइभीको जोखिम झन् बढेको जनाइएको छ ।
गत आर्थिक वर्षसम्म जिल्ला अस्पतालबाट ४२ जना सङ्क्रमितहरूले एआरटी सेवा लिइरहेका छन् । अहिले जिल्ला अस्पतालबाट सेवा लिनेमध्ये २० पुरुष, २० महिला तथा दुईजना बालबालिका छन् । जिल्ला अस्पताल दार्चुलाका एआरटी काउन्सिलर लोकेन्द्र सिंह धामीले दिएको जानकारीअनुसार ४२ मध्ये एकजनाको एचआइभी एड्सकै कारण गत आर्थिक वर्षमा मृत्यु भयो । आर्थिक वर्ष २०७०/७१ वटा जिल्लामा एआरटी सुरु भएयता एचआइभी एड्सका कारण ६ जनाको ज्यान गएको छ ।
। उनका अनुसार जिल्लाको महाकाली नगरपालिकामा पाँच महिला तीन पुरुष गरी आठ जना, शैल्यशिखर नगरपालिकामा पाँच महिला चार पुरुष गरी नौजना एचआइभी सङ्क्रमित छन् । मालिकार्जुन गाउँपालिकामा ६ महिला, चार पुरुष, लेक गाउँपालिकामा चार महिला, चार पुरुष र एक नाबालक, मार्मा गाउँपालिकामा तीन पुरुष र एक नाबालक तथा दुहुँ गाउँपालिकामा दुईजना पुरुषमा एचआइभी सङ्क्रमित रहेको धामीले जानकारी दिए ।
दार्चुलामा सङ्क्रमितहरूको सङ्ख्या बढ्नुको मुख्य कारण असुरक्षित यौनसम्पर्क हो । यहाँका अधिकांश नागरिक भारतमा मजदुरी गर्न जान्छन् । लामो समयसम्म भारतमा मजदुरी गर्दा असुरक्षित यौन सम्पर्क गरेर फर्किँदा घरपरिवारमा समेत एचआइभी सङ्क्रमण फैलाउने गरेका छन् । समाजले हेर्ने दृष्टिकोण सङ्क्रमितहरूलाइ परिवर्तन नहुँदा पनि महिला पुरुष समयमै उपचारका लागि खुल्न नसक्दा जोखिम बढ्दै गएको छ ।