काठमाडौं,६ साउन। फिल्म ‘पानीफोटो’ सम्भवतः मलिका महतको ट्रेण्डसेटर फिल्म बन्न सक्छ । ट्रेलरबाट उनले प्राप्त गरेको प्रतिक्रिया हेर्दा लाग्छ, उनीसँग यसपछि अवसर र चुनौती दुवै छन् ।
शुक्रबार अनलाइनखबरसँग संक्षिप्त कुरा गर्दै महतले यो फिल्म आफ्नो स्वप्न प्रोजेक्ट रहेको बताइन् ।
‘सानैदेखि अभिनयको रुचि मभित्र थियो । तर कहिल्यै पनि हिरोइन बन्छु वा अभिनेत्री बन्छु भनेर सोचिनँ,’ महत भन्छिन्, ‘मलाई एक्टर बन्न मन छ । यो भन्दैमा मलाई मूलधारको फिल्महरु गर्न मन छैन भनेकी होइन । राम्री देखिन मन छैन होइन । मैले कलालाई जहाँ प्रयोग गर्न सक्छु, त्यहाँ चाहिं म फाइन छु ।’
‘यात्रा’बाट फिल्ममा डेब्यु गरेकी महतले उक्त फिल्मको ट्रेलर देखेरै आफूलाई निर्देशक खगेन्द्र लामिछानेले ‘अप्रोच’ गरेको बताइन् । ‘पानीफोटो’मा राधा नामक युवतीको भूमिकामा देखिएकी मलिकाले एक दिनको वर्कसप लिएर आफूहरु छायांकनमा गएको अनुभव सुनाइन् ।
उनी भन्छिन् ‘म लास्ट मोमेन्टमा ज्वाइन भएकी हुँ । एक सातामै तयार भएकी हुँ । मेरै लागि भनेर एक दिनको लागि वर्कसप गरेका थियौं । आफूलाई आन्तरिक रुपमा प्रिपेयर गरेकी थिएँ । एक्लै हुँदा पनि उसकै बारेमा सोच्थें । सोच्दासोच्दै पात्रमा आफूलाई ढाल्दै गएँ ।’
नेपाली समाज पितृसत्ताले प्रभावित भए पनि पछिल्लो समय नेपाली फिल्ममा महिलाहरुले पाएको स्थान प्रशंसनीय रहेको उनले सुनाइन् । आफूले चरित्र निर्वाह गरेको राधा पात्र बाहिरबाट हेर्दा बलियोजस्तो देखिए पनि आन्तरिक रुपमा भने अर्कै रहेको उनको भनाइ छ ।
‘ऊ निकै रोचक पात्र हो । उसले कतिपय कुरा चाहेर पनि बाहिर देखाउन सकिरहेकी छैन,’ मलिका भन्छिन् ।
अनुप बराल, मेनुका प्रधान र खगेन्द्र लामिछानेको समेत मुख्य भूमिका रहेको फिल्म पानीफोटोले दशक लामो सशस्त्र द्वन्द्वमा बेपत्ता छोरा खोज्न हिंडेको एक दम्पतीको कथा पेश गर्छ । निर्देशक समेत रहेका खगेन्द्रले फिल्ममा प्रमुख चरित्र समेत निर्वाह गरेका छन् ।