विश्वभर ठूलो फ्यान फलोइंग बनाएका साउथका कयैन् स्टारहरुले बलिउड फिल्ममा समेत काम गरेका छन् । कति स्टारहरु भने बलिउड फिल्ममा काम गर्नुलाई समयको बर्बादी मान्छन् । यस्तैमा, साउथ सुपरस्टार अल्लू अर्जुनले बलिउड फिल्ममा गर्न सक्ने संकेत गरेका छन् । राम्रो स्क्रिप्टबाट अफर आएको खण्डमा बलिउड फिल्ममा काम गर्न कुनै समस्या नभएको उनको भनाई छ ।
फिल्म ‘पुष्पा’ रिलिजपछि हिन्दी अडियन्समा अल्लूको ठूलो क्रेज छ । यसकारण उनलाई बलिउडमा डेब्यू गराउन ठूला कम्पनीहरु प्रयासरत छन् । अल्लू भन्छन्, ‘यो मेरो लागि सजिलो काम होइन तर, सही मौका मिलेको खण्डमा आफ्नो सबथोक दिनेछु । हिन्दी फिल्ममा अभिनय गर्न अहिलेलाई थोरै मुश्किल छ तर, जब सही समय आउँछ म आफ्नो कम्फर्ट जोनबाट पूरै बाहिर निस्कन्छु ।’
‘पुष्पा’ले अल्लू अर्जुनको करिअर उत्कर्षमा पुर्याएको छ । यो फिल्मले हिन्दी भर्सनमा मात्र १ सय १० करोड बढीको कमाई गरेको छ । सुकुमारले निर्देशन गरेको फिल्ममा रश्मिका मन्दाना, सुनील, फहाद फासिल, प्रकाश राजको पनि अभिनय थियो । अब यो फिल्मको सिक्वेल बन्दैछ । सिक्वेलमा पनि अल्लू नै मुख्य भूमिकामा देखिनेछन् । फिल्मको यतिबेला स्क्रिप्टमा काम भइरहेको छ ।