धनगढी,२ साउन। महिनाको पहिलो सोमबार। साउनको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा छ।
साउन महिना र सोमबारको दिनलाइ भगवान् शिवको विशेष महिना र बार मानिन्छ । त्यसैले साउनको पहिलो सोमबारका दिन आज पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको हो । शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।
साउन महिनाको सोमबार व्रत बसेर शिवको पुजा आराधना मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । साउन महिनामै देशका विभिन्न शिवालयहरुमा दर्शन गर्न बोलबम यात्रा गरिन्छ ।
साउने सोमबारको व्रत दाम्पत्य जीवन, पारिवारिक एवं सन्तान र परिवारको कल्याण तथा सुख शान्तिका लागि पुरुष महिला दुवैले गर्नुपर्ने शास्त्रीय वचन रहेको छ ।
मानव शरीर पृथ्वी, जल, तेज, वायु र आकाश गरी पञ्चत्वले बनेको छ । यसमध्येमा पृथ्वी तत्व शरीरमा धेरै हुन्छ । यसैले पृथ्वीमा हरियाली छाएका बेला मानिसले पनि हरियो पहिरन लगाएर साउने सोमबार मनाउने गर्छन् । यसो गरेमा प्रकृतिसँगको तादात्म्यता प्राप्त हुने धार्मिक विश्वाससमेत छ ।