बलिउडको इतिहासमा कयौं यस्ता फिल्महरु छन्, जसको बजेटको कुरा गर्ने हो भने त्यसमा निर्माताले पानी सरह पैसा बगाएका थिए । फिल्मको कलाकारदेखि लोकेशनसम्म हरेक चीज वर्ल्ड क्लास राखिएको थियो । तर, ती फिल्म बक्सअफिसमा पछारिए । त्यसैले ठूला स्टार र ठूलो लगानी गर्दैमा फिल्म चल्छ भन्ने सोच्नु मुर्खता हो । फिल्म लगानी र स्टारकास्टले होइन, कन्टेन्टले चल्छ ।
ठूलो लगानीमा निर्माण भएर बक्सअफिसमा पत्तासाफ भएको फिल्ममा पर्छ, ‘८३’ । सन् १९९३ को क्रिकेट विश्वकपको जितमा आधारित यो फिल्ममा रणवीर सिंह मुख्य भूमिकामा थिए । २ सय ७० करोडको लगानीमा निर्माण भएको फिल्मले बक्सअफिसमा भने १ सय ९ करोड मात्र कमायो । अर्थात्, फिल्म फ्लप भयो । यद्यपि, फिल्मले दर्शकहरुबाट प्रतिक्रिया भने राम्रो पाएको थियो ।
यश राज फिल्म्सको ब्यानरमा निर्माण भएको अमिताभ बच्चन, आमिर खान, कटरीना कैफ र फतिमा सना शेख अभिनीत फिल्म ‘ठग्स अफ हिन्दुस्तान’मा पनि निर्माताले पैसा पानी सरह बगाएका थिए । २ सय ४० करोडको लागतमा फिल्म बनेको थियो । तर, बक्सअफिसमा फिल्मले १ सय ४५ करोड कमायो । यसलाई आमिरको करिअरको सबैभन्दा डिजास्टर फिल्मको रुपमा लिइन्छ ।
सुपरस्टार शाहरूख खान स्टारर फिल्म ‘जीरो’ले पनि बक्सअफिसमा घुँडा टेकेको थियो । करीब २ सय करोडको लगानीमा बनेको यो फिल्मले १ सय १२ करोडको आसपास कमाई गरेको थियो । अर्का सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘रेस ३’ पनि फ्लप फिल्मको सूचीमा पर्छ । १ सय ८० करोडको लागतमा निर्माण भएको यो फिल्मले बक्सअफिसमा १ सय ६५ करोड मात्र कमायो ।
त्यस्तै, १ सय ५० करोडमा बनेको फिल्म ‘कलंक’ले ८० करोड, १ सय ३५ करोडमा बनेको सलमान खानको फिल्म ‘ट्यूबलाइट’ले १ सय १५ करोड, १ सय ३० करोडमा बनेको शाहरुख खान स्टारर फिल्म ‘रावण’ले ९६ करोड र १ सय २५ करोडमा निर्माण भएको रणबीर कपूर र अनुष्का शर्मा अभिनीत फिल्म ‘बाम्बे वेलवेट’ले ३० करोड कमाउँदै फ्लपको सूचीमा नाम लेखाएका थिए ।