काठमाडौँ, १ साउन। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा पनि गठबन्धन गरेरै अघि बढ्ने बताएका छन् ।
ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा शनिबार केन्द्रीय समितिको बैठकमा बोल्दै उनले आगामी चुनावमा पनि गठबन्धन नै गरेर जाने बताएका हुन् ।
स्थानीय तहको निर्वाचनमा कांग्रेस ठुलो पार्टी भएको र पहिलेको भन्दा केही सिट थप जितेको पनि उनले बताए ।
उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई अहिले चटक्कै छोडेर हिँड्न नमिल्ने बताए ।
‘प्रचण्ड र माधव नेपाललाई अहिले चटक्कै छोडेर हिँड्न हामीले मिल्दैन । प्रचण्डलाई पहिले गिरिजाबाबुले शान्ति प्रक्रियामा ल्याउनुभएको हो, माधव नेपाल झन् पार्टी फोरेर यो गठबन्धनमा आउनुभएको हो छोड्न मिल्दैन,’ उनले भने, ‘सबैलाई समेटेर म लैजान्छु । कांग्रेस गठबन्धन गरेर पनि पहिलो पार्टी बन्छ । विस्वास गर्नुहोस् ।’