मसुरिया,२९ असार । कैलालीका महिलाहरुलाई प्रजनन स्वास्थ्य स्वच्छता व्यवस्थापन गर्न नारी परियोजनाले सरसफाइ सम्बन्धी किट र महिनावारी व्यवस्थापन किट वितरण गरेको छ ।
परियोजनाले टिकापुर, भजनी र घोडाघोडी नगरपालिकामा अपाङ्गता भएका महिला, गर्भवती महिला, मुक्त कमैया, दलित किशोरी र दीर्घ रोग लागेका महिलाहरुलाई स्वच्छता किट र महिनावारी व्यवस्थापन किट वितरण गरिएको हो ।
संकटासन्न महिलाहरुलाई सरसफाइ सम्बन्धी बानीको विकास गर्न स्वच्छता किट र महिनावारी भएको बेलामा सङ्क्रामक रोग लाग्न बाट जोगाउन महिनावारी व्यवस्थापन किट वितरण गरिएको हो । टिकापुरमा ७०१ स्वच्छता किट र ८७८ महिनावारी व्यवस्थापन किट प्रदान गरिएको थियो जस मध्ये १७१ जना अपाङ्गता भएका महिला रहेका छन् ।
भजनीमा ४७३ स्वच्छता किट र ८१७ महिनावारी व्यवस्थापन किट प्रदान गरिएकोमा १९७ जना अपाङ्गता भएका महिला रहेका छन् । यस्तै घोडाघोडीमा ६६३स्वच्छता किट र ३५७ महिनावारी व्यवस्थापन किट प्रदान गरिएकोमा ११२ जना अपाङ्गता भएका महिला लाभान्वित भएका छन्।
बाल कल्याण सङ्घ टिकापुर र वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा अस्ट्रेलिया सरकारको वैदेशिक मामिला तथा व्यापार विभागको आर्थिक सहयोगमा सञ्चालित नारी परियोजनाले समुदायमा रहेका १५-४९ का प्रजनन वर्ष उमेर समूहका महिलाहरू प्रत्यक्ष रुपमा सहयोग पुर्याउंदै आएको छ।
यस परियोजनाले संकटासन्न अवस्थामा रहेका प्रजनन स्वास्थ्य उमेर समूहका अपाङ्गता भएका महिला, गर्भवती महिला, मुक्त कमैया, दलित किशोरी र दीर्घ रोग लागेका महिलाहरुलाई चार हजार भन्दा बढी स्वच्छता किट र महिनावारी व्यवस्थापन किट वितरण गर्नुका साथै साथै सम्पूर्ण स्वास्थ्य केन्द्र र प्रसूति गृहहरूमा विभिन्न चिकित्सकीय उपकरणहरू प्रदान गरिसकेको छ ।