काठमाडौँ,२९ असार । गतवर्ष असार २८ मा सर्वोच्च अदालतले विघटन भएको प्रतिनिधि सभा दोस्रो पटक पुनःस्थापना गर्ने परमादेश जारी गरेको थियो।त्यो सँगै सर्वोच्च अदालतको संवैधानिक इजलासले परमादेश जारी गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न पनि परमादेश गर्यो। सर्वोच्च अदालतको परमादेशबाट असार २९ गते देउवा कांग्रेस सभापति शेरबहादुर प्रधानमन्त्री भए।
देउवा प्रधानमन्त्री भएको ठिक एकवर्षमा भएका महत्वपूर्ण कामहरुको सूची उनको सचिवालयले सार्वजनिक गरेको छ।प्रधानमन्त्री देउवाको सरकारले एकवर्षको अवधिमा जेष्ठ नागरिकलाई ६८ वर्षमै भत्ता उपलब्ध गराउनेदेखि किसानसँग सरकारको नारासहित कृषिमा रुपान्तरणकारी योजना र बजेटमा उल्लेख्य वृद्धि, किसानलाई पेन्सनसहित प्रोत्साहन र राहतका योजनासमेत सार्वजनिक गरेको छ।
महत्वपूर्ण काममा केपी शर्मा ओली सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक विधि र पद्धतिमा अघि बढाउन सफल भएको दाबी गरिएको छ।स्थानीय तहको निर्वाचन तोकिएको समयमा शान्तिपूर्ण रुपमा सम्पन्न, प्रतिनिधि सभामा विश्वासको मत पाएलगत्तै नागरिकलाई कोभिड-१९ को प्रकोपबाट जोगाउन सरकारको पहिलो प्राथमिकता हुने उद्घोषसहित खोप लगाउन योग्य सबै नागरिकलाई पूर्ण खोप दिलाउन सफल भएको भनिएको छ।
यस्तै सबै मुलुकसँग प्रगाढ सम्बन्ध बनाउन तथा राष्ट्रिय हितमा आधारित परराष्ट्र नीति अवलम्बन गरिएको पनि उल्लेख छ। आन्दोलनमा घाइते भई यथोचित उपचार नपाएहरुको उपचार व्यवस्था, अंगभंग भएकाहरुलाई क्षतिपूर्ति र परिवारका एकजनालाई रोजगारीको व्यवस्थासमेत महत्वपूर्ण कामहरुमा राखिएको छ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले करिब ९ महिनादेखि चल्न नदिएको संसद् अवरोधको अन्त्य, राष्ट्रहितलाई ध्यानमा राखेर अमेरिकाको स्टेट पाटनरसिप प्रोग्रामको कार्यक्रमहरु अघि नबढाउने निर्णय, अन्तरदेशीय प्रसारण लाईन विस्तार गरी छिमेकी मुलुक भारतमा बिजुली बिक्री सुरु र नागरिकता विहीनताको अन्त्य गर्न नागरिकता विधेयक संसद्मा पेस गरिएको विषयलाई पनि एकवर्षमा भएको महत्वपूर्ण कामका रुपमा राखिएको छ।