धनगढी, २९ असार/सुदूरपश्चिम प्रदेश सरकारले सदनमा प्रस्तुत गरेको बजेटको सन्दर्भमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १४ बुँदे माग अघि सारेको छ । बुधबार मुख्यमन्त्री त्रिलोचन भट्टसँगको छलफलमा विभिन्न सुझावसहित एमालेले १४ बुँदे माग अघि सारेको हो ।
एमालेले राखेका मागबारे मुख्यमन्त्री भट्टले मन्त्रीहरुसँग छलफल थालेका छन् । एमालेका प्रमुख सचेतक लीलाधर भट्टका अनुसार छलफलमा एमाले संसदीय दलका नेता प्रकाश रावल, कार्यव्यवस्था परामर्श समितिका सदस्य बलदेव रेग्मी, प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सभा सदस्य कृष्णकुमार चौधरी सहभागी थिए ।
बजेटप्रति असहमति जनाउँदै प्रमुख प्रतिपक्षले प्रदेशसभा बैठक बहिष्कार गर्दै आएको छ । प्रदेशसभामा विपक्षी दल नै उपस्थित नभएपछि बैठक बस्न सकेको छैन ।
प्रदेशसभाको बैठक आज १ बजेका लागि निर्धारित भएको छ । त्यसअघि विपक्षी दलहरूसँग लिखित समझदारी गर्ने सरकारको तयारी छ ।