कञ्चनपुर,२८ असार । कञ्चनपुरको एक विद्यालयमा राजनीतिक दलको प्रचार हुने गरी मूल गेटनै निर्माण गरिएको पाइएको छ । जिल्लाको बेदकोट नगरपालिका ९ स्थित उदयदेव माध्यमिक विद्यालयमा नेकपा (एमाले) को वडा कमिटीले विद्यालयका लागि निर्माण गरिदिएको फलामे ढोकामा ठूलो अक्षरमा ‘नेकपा एमाले बे. न.पा. ९ वडा कमिटीको सहयोग’ लेखिएको पाइएको हो ।
त्यसमा चुनाव चिन्ह सूर्य र स्वस्तिक छाप हानेको देखाइएको छ ।आइतबार सार्वजनिक बिदाका दिन मिस्त्री जङ्गबहादुर टमटाले ढोका जडान गरेका हुन् । नेकपा एमालेको वडा कमिटीले झण्डै ६० हजार रुपैयाँ खर्चेर ढोका बनाउन लगाएको थियो ।सोमवार बिहान विद्यालयमा त्रैमासिक परीक्षा चलिरहेको थियो।
दिउसो कांग्रेस समर्थित स्थानीयले विद्यालयको ढोकामा एमाले पार्टीको नाम देखेपछि विरोध जनाएका छन् ।उनीहरूले शिक्षा ऐन मै विद्यालय परिसरमा कुनै पनि पार्टीको प्रचार हुने खालका सामाग्री राख्न नपाउने उल्लेख गरिएपनि एमालेले त्यसको बेवास्ता गरेको भन्दै विरोध जनाएका छन् ।
यता विद्यालयका प्रधानाध्यापक महेश्वर प्रसाद भट्टले विद्यालयमा ढोका नहुँदा छाडा गाई गोरु भित्र पस्ने भएकाले वडा अध्यक्ष जनक विष्टले ढोका बनाइदिने प्रस्ताव आफूलाई गरेको बताए । सौजन्य लेख्दा तल मुनि सानो अक्षरमा लेखिदिएको भए हुने र ठूलो अक्षरमा माथि नै लेख्दा विवाद भएको प्रअ भट्टले बताए ।