धनगढी,२७ असार । कैलालीमा दुइदिने बेमौसमी तरकारी खेती सम्बन्धी तालिम सम्पन्न भएको छ। घोडाघोडी नगरपालिका, युएनडिपी र सेवक नेपालको संयुक्त साँझेदारीमा घोडाघोडीका ३० जना किसानलाई व्यवसायी बनाउने उद्देश्यका साथ तालिम दिइएको हो।
आइतबार सम्पन्न तालिममा घोडाघोडी नगरपालिका कृषी शाखाका प्रमुख जनकबहादुर धामी, गणेश शाही र रोजगारशाखाका रोहीत जोशी प्रशिक्षक रहेका थिए। दुइदिने तालिममा सहभागी किसानलाई बेमौसमी तरकारी खेतीका प्रकार, उत्पादन र रोग नियन्त्रण र बजारीकरण लगायतका विषयमा जानकारी गराइएको थियो।
अधिकांश महिला सहभागिता रहेको उक्त तालिमको समापन कार्यक्रममा सेवक नेपालका अध्यक्ष पवन भण्डारीले महिलालाई व्यवसायी बनाउन तालिमले सहयोग पुगाउने विश्वास व्यक्त गरे। उनले तालिमसंगै व्यवसायी बेमौसमी तरकारी खेती गर्ने किसानलाई प्राविधिक लगायत अन्य कृषी औजारमा सहयोग गर्ने बताए। उनले यस कार्यक्रममा महिला किसानलाई व्यवसायमा जोड दिएको जनाए।
सेवक नेपालका कार्यक्रम संयोजक इन्द्रराज जोशीले घोडाघोडी नगरपालिकामा सञ्चालित परियोजनाबारे जानकारी गराउदै वडा नम्बर १, ३ र ८ का ३० जना किसानलाई व्यवसायी बनाउन तालिमले सहयोग गर्ने बताए। उनले विभिन्न मापदण्ड अन्र्तगत छनौट भएका दलित, जनजाति सिमान्तकृत किसानलाई बेमौसमी तरकारी खेती, पशुपालनका लागि तालिमसंगै व्यवसायी बनाउन संस्थाले सहयोग गर्ने बताए। उनले छनोट भएका थप २० जना किसानलाई दोस्रो चरणमा तालिम दिई नगरपालिकामा ५० जना किसानलाई व्यवसायी बनाउने लक्ष्य रहेको जानकारी दिए।
तालिममा केही व्यवसायी तथा तरकारी खेती गर्दै आएका किसान सहभागी थिए भने धेरै नयाँ व्यवसायी खेतीका लागि इच्छुक रहेका थिए। तालिममा सहभागी अधिकांशले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्ने बताएका छन्।