‘कृ’ फेम्ड निर्देशक सुरेन्द्र पौडेल निर्देशित तेस्रो फिल्म ‘बाबरी’को दोस्रो गीत सार्वजनिक भएको छ । यसअघि सार्वजनिक गरिएको ‘बाबरी रंगमा रंगिएर’ गीतले लोकप्रियता हासिल गरेपछि निर्माण टिमले बिहीवार केन्द्र मोशन पिक्चर यूट्युब च्यानलमार्फत् ‘चुलबुल चुलबुल’ बोलको डान्सिङ शैलीको गीत सार्वजनिक गरेको हो । गीतको अडियो तथा भिडियो क्वालिटी प्रशंसायोग्य छ ।
‘तीनपाते’, ‘गाला पुक्क’, ‘लजाएर’ जस्ता चर्चित गीतका गायक सुजन चापागाईंले गीतमा संगीत भरेका छन् भने शब्द रचना रविन्द्र लामिछानेको हो । गीतमा सुजन र सुनिता थेगिमकको स्वर छ । सुजनले पहिलो पटक फिल्मको गीत गाएका हुन् । विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका अभिनेता धिरज मगर र अभिनेत्री अदिती बुढाथोकी प्रस्तुत छन् ।
त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा धिरज नाडकर, बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङ लगायतको पनि अभिनय रहेको छ । धिरज नाडकर, अभिनेत्री तृप्ती नाडकरका छोरा हुन् । उनले ‘बाबरी’बाट अभिनेताको रुपमा डेब्यू गर्दैछन् । फिल्म आगामी भदौ ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।
गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी निर्माता र सुष्मा गुरुङ सह-निर्माता रहेको फिल्मको कथा सुरेन्द्र पौडेल स्वयंले लेखका हुन् । फिल्ममा कालीप्रसाद बास्कोटा, सुजन चापागाई र अनमोल गरुङको संगीत, रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालको पटकथा/संवाद र नरेन्द्र मैनालीको छायांकन छ । काठमाडौं, झापा, मोरङ र सिक्किममा फिल्म खिचिएको हो ।