धनगढी, २१ असार । महिला हिंसाविरुद्धको कानून कार्यान्वयनको अवस्था फितलो रहेको धनगढीमा भएको एक कार्यक्रमले निष्कर्ष निकालेको छ। दलित महिला अधिकार मञ्चको आयोजना र डीसीएको सहयोगमा भएको कार्यक्रमले महिला हिंसाविरुद्धको कानून कार्यान्वयनको अवस्था फितलो रहेको निष्कर्ष निकालेको हो।
मञ्चकी कैलाली अध्यक्ष सावित्रा घिमिरेले सरकारको तर्फबाट धैरै अधिकार दिए पनि महिला अधिकार कार्यान्वयनको अवस्था भने फितलो रहेको बताएकी छिन्। यस्तै कार्यक्रममा मुख्य न्यायाधीवत्ता कुलानन्द उपाध्यायका अनुसार संविधानका विभिन्न धाराहरूमा महिला सम्बन्धि कानून रहेको भए पनि सरकार यसको कार्यान्वयनमा पूर्णरुपमा सफल हुन सकेको छैन।
कानूनको दायरामा आएका अधिकांश घटनाहरूले न्याय पाएको भए पनि अधिकांश घटना पारिवारिक तत्वका कारण कानूनको दायरामा पुग्न नसकेकाले कार्यान्वयनमा समस्या भएको उनको भनाई छ। महिला सम्बन्धी समस्याका लागि तीन तहकै सरकारले विशेष कानून निमार्ण गरि कार्यान्वयन गर्नुपर्ने उनले बताए। कानून भए पनि समुदायमा यसको बारेमा जनचेतना नभएको इन्सेकका सुदूरपश्चिम प्रदेश संयोजक खड्कराज जोशीले बताए।
उनका अनुसार सरकार महिलाको हक अधिकार कार्यान्वयनको क्षेत्रमा पूर्ण रुपमा असफल भएको छ। सरकारका प्रतिनिधि भ्रष्टाचारमा व्यस्त भएको उनले आरोप लगाए। कार्यक्रममा सहभागी सबैले आ–आफ्नो घरबाट यसको विरुद्धमा लाग्नुपर्ने बताएका छन्।