काठमाडौं , १९ असार । नेपाल प्रहरीमा ठूलो संख्यामा भर्ना खुलेको छ। आइतबार प्रहरी प्रधान कार्यालयले एक सूचना प्रकाशन गर्दै ४४३ जना असई र २ हजार ४७४ जना प्रहरी जवानका लागि विज्ञापन खोलेको जानकारी दिएको हो।
प्रहरी सहायक निरीक्षक र प्रहरी जवान गरी २ हजार ९१७ जनाका लागि भर्ना खुलेको प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग भर्ना तथा छनौट शाखाले जनाएको छ।
प्रहरी सहायक निरीक्षक (असई) मा खुला तर्फ २३८, अमर अशक्त प्रहरी परिवारतर्फ ९, महिला ४०, आदिवासी जनजातितर्फ ६३, मधेसी,५५, दलित २९ र पिछडा वर्गका लागि ९ गरी कुल ४४३ जनाको लागि भर्ना खुलेको छ।
त्यसै गरी प्रहरी जवानको लागि खुलामा १ हजार ३३४ जना अमर अशक्त प्रहरी परिवारतर्फ ४९, महिला २१९, आदिवासी जनजातितर्फ ३५०, मधेसी,३०५, दलित १६४ र पिछडा वर्गका लागि ५३ गरी कुल २ हजार ४७४ जनाको लागि भर्ना खुलेको छ।
उक्त विज्ञापन गत साल नै प्रकाशित भए पनि रोकिएको थियो। गत २०७८ असोज २२ गते प्रकाशित विज्ञापनमा ३६७ जना असई माग गरिएको थियो ।