१ वर्षीय जयरानीले २०७२ सालदेखि एथलेटिक्सलाई नै करिअरका रुपमा लैजाने सोच बनाएकी हुन् । राष्ट्रपति रनिङ शिल्डमा विद्यालयबाट छानिएकी उनले पहिलो सहभागितामै उत्कृष्ट प्रदर्शन गरिन् । ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता जयरानीका लागि आफूलाई अब्बल प्रमाणित गर्ने उपयुक्त मञ्च बन्यो ।
काठमाडौं, १२ असार। २०७३ सालमा पूर्वाञ्चलमा आयोजित सातौं राष्ट्रिय खेलकुद र त्यसको दुई वर्षपछि लुम्बिनी प्रदेशमा आयोजित आठौं राष्ट्रिय खेलकुदमा १ सय र चार सय मिटर हर्डल्स दौडमा केशरी चौधरीले स्वर्ण जित्दा जयरानी थारु प्रतिस्पर्धामा थिइन्, तर पदकको छेउछाउ पनि पुग्न सकिनन् ।
त्यतिबेला जयरानी सोच्थिन्– केसरी दिदीजस्तै च्याम्पियन बन्ने कहिले होला !
तीन वर्षपछि उनले आफ्नो सपना पूरा गरेकी छन् । आइतबार सम्पन्न ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता जयरानीका लागि आफूलाई अब्बल प्रमाणित गर्ने उपयुक्त मञ्च बन्यो । तीन वर्षपछि राष्ट्रिय एथलेटिक्स आयोजना हुँदा जयरानी ४ स्वर्ण र १ रजतसहित सहभागी सबै विधामा पदक जितेर सर्वोत्कृष्ट खेलाडी बनिन् ।
१ सय मिटर र ४ सय मिटर हर्डल्समा राष्ट्रिय कीर्तिमान आफ्नो नाममा सारिन् । लङजम्पमा स्वर्ण जितिन् । यी विधामा केशरीले आफ्नो समय वर्चश्व कायम गरेकी थिइन् । चार गुणा १ सय मिटर रिलेमा सरस्वती भट्टराई, राधिका श्रेष्ठ र निर्मला थापासँग मिलेर स्वर्ण जितिन् । त्रिभुवन आर्मीको यही टोली चार गुणा ४ सय मिटर रिलेमा भने एपीएफसँग पराजित हुँदै रजतमा सीमित रह्यो ।
जयरानीले १ सय मिटर हर्डल्समा १५.२० सेकेण्डको ह्याण्ड टाइमिङसहित राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । यसअघि सन् २०१३ मा भएको राष्ट्रिय प्रतियोगितामा केशरी चौधरीले १५.९ सेकेण्डको ह्याण्ड टाइमिङसहित कीर्तिमान राखेकी थिइन् । यो विधामा इलेक्ट्रोनिक्स टाइमको कीर्तिमान भने प्रमिला चौधरीको नाममा छ । उनले सन् २०१९ मा नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा १६.३८ सेकेण्डमा दूरी पूरा गरेकी थिइन् ।
४ सय मिटर हर्डल्सतर्फ जयरानीले सविता चौधरीको नाममा रहेको कीर्तिमान आफ्नो नाममा सारेकी हुन् । उनले १ मिनेट ७.२ सेकेण्डमा दूरी पूरा गरी नयाँ कीर्तिमान रचिन् । यसअघि सन् २०१४ मा ३९औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा सविताले १ मिनेट ७.७ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।
नेपाल पुलिसको जागीर छाडेर केशरी दुवई पलायन भएको १ वर्षपछि २०७५ सालमा जयरानी ‘खेलाडी कोटा’मार्फत त्रिभुवन आर्मी क्लबमा पुगेकी हुन् । त्यसअघि उनले दुईवटा राष्ट्रिय खेलकुद र राखेप च्याम्पियनसिप–२०७४ मा आफ्नो क्षेत्रको प्रतिनिधित्व गरिसकेकी थिइन् ।
‘उता गाउँमा हुँदा प्रशिक्षण नियमित हुँदैनथ्यो । उपकरणहरु पनि राम्रो थिएन । आर्मी क्लबमा आएपछि मेरो प्रदर्शन सुधार हुन थालेको हो । मेरो सबै सफलता आर्मीमा आएपछि मात्रै हो,’ कीर्तिमानी प्रदर्शन गरेपछि जयरानीले भनिन्, ‘कीर्तिमान तोड्छु भन्ने त लागेको थिएन । स्वर्ण चाहिं जित्छु भन्ने थियो । सोचेजस्तै भएकोमा खुसी लागेको छ ।’
२१ वर्षीय जयरानीले २०७२ सालदेखि एथलेटिक्सलाई नै करिअरका रुपमा लैजाने सोच बनाएकी हुन् । राष्ट्रपति रनिङ शिल्डमा विद्यालयबाट छानिएकी उनले पहिलो सहभागितामै उत्कृष्ट प्रदर्शन गर्न सकिन् । त्यही प्रदर्शनले उनलाई अर्को वर्ष सातौं राष्ट्रिय खेलकुदमा लुम्बिनीको टिममा समावेश गराएको हो ।
बर्दियाको मधुवन नगरपालिका २ ओराली बजारकी यी खेलाडी आर्मीमा अनुबन्ध भएपछि राष्ट्रिय प्रतियोगिताका लागि भने तीन वर्ष कुर्नुपर्यो । कोरोना महामारीका कारण प्रतियोगिता नहुनुको मारमा परेकी उनले नियमित प्रशिक्षणमा जारी राखिन् । उनी प्रतियोगिता नहुँदा आफ्नो स्तर देखाउन नपाएको चिन्तित भने थिइन् ।
‘धेरै समयदेखि तयारीमात्र भइरहेको थियो । हामीले प्रतियोगिता खेल्न पाएका थिएनौं । प्रशिक्षण मात्र हुँदा हामीले आफ्नो खेल देखाउन पाएका थिएनौं,’ जयरानीले भनिन्, ‘एथलेटिक्समा पनि हाम्रो विधाको त प्रतियोगिता नै हुँदैन । प्रशिक्षण भइराखेको हुन्छ तर प्रतियोगिता नहुँदा त्यसको महत्व नहुने रहेछ । यस्ता प्रतियोगिता कम्तिमा वर्षमा एकपल्ट भइदिएको भए खेलाडीको क्षमता र प्रतिस्पर्धात्मक स्तर बढ्छ जस्तो लाग्छ ।’
एथलेटिक्सका राष्ट्रिय प्रशिक्षक धनीराम चौधरीले जयरानीले केशरी चौधरीको स्थान लिने क्षमता देखाएको बताए । ‘नेपालको एथलेटिक्समा केशरी चौधरी धेरै नै क्षमतावान खेलाडी थिइन् । क्रिकेटदेखि एथलेटिक्सका ट्र्याक र फिल्डको प्रायः विधामा अब्बल थिइन्,’ प्रशिक्षक चौधरीले भनिन्, ‘जयरानीको उमेर सानै छ । उनले केशरीको भन्दा धेरै उपलब्धी दिलाउन सक्छिन् । उनको त्यो क्षमता हामीले देखेका छौं ।’
नियमित प्रतियोगिता नहुँदा एथलेटिक्स खेलाडीको स्तर पहिचानमा कठिनाइ हुने गरेको प्रशिक्षक चौधरीले पनि स्वीकार गरे ।