थरुहट राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्ष लक्ष्मण थारू नागरिक उन्मुक्ति पार्टीमा प्रवेश


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
थरुहट राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्ष लक्ष्मण थारू नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

काठमाण्डौं, १२ असार । थरुहट राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्षसमेत रहेका लक्ष्मण थारु र लम्कीका व्यवसायीसमेत रहेका काँग्रेस नेता नेत्र जोशी रेशम चौधरी संरक्षकत्वको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

आज काठमाडौँमा आयोजित कार्यक्रममा दुवै जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् । थारु र जोशीलाई नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले एक कार्यक्रमकाबीच पार्टी प्रवेश गराएकी हुन् । नागरिक उन्मक्ति पार्टी प्रवेश गर्न लागेका थारु थरुहट आन्दोलनका अगुवामध्येका एक हुन् । टीकापुर घटनामा मुछिएका भनिएका लक्ष्मण थारुलाई पनि रेशम चौधरीलाई झैँ उच्च अदालत दीपायलबाट जन्मकैदको सजाय सुनाइएको छ । उनी हाल अर्धभूमिगत जीवन बिताइरहेका छन् ।

टीकापुर घटना राजनीतिक भएकाले आफूहरूले सफाइ पाउनुपर्ने रिट रेशम, लक्ष्मण थारु लगायतले सर्वोच्च अदालतमा पेश गरेका छन् ।माओवादीले दाङदेखि कञ्चनपुरसम्म थारुवान प्रदेश घोषणा गरेको थियो । तर लेखराज भट्टले कैलाली, कञ्चनपुरलाई सेती महाकाली प्रदेशमा गाभ्नुपर्नेमा जोड दिएपछि त्यसमा असहमति जनाउँदै माओवादीको कैलाली जिल्ला इन्चार्ज रहेका लक्ष्मण थारुले २०६५ सालको सुरुमै पार्टी परित्याग गरेका थिए । त्यसपछि छुट्टै मोर्चा बनाएका लक्ष्मण थारुले पछि थरुहट तराई पार्टी नेपाल पार्टी गठन गरी अध्यक्ष भएका थिए ।

थरुहट तराई पार्टी नेपालको चुनाव चिन्ह त्यसबेला ढकिया थियो। रेशम चौधरी पत्नी रन्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीको चुनाव चिन्ह पनि अहिले ढकिया रहेको छ ।यस्तै जसपाका मोहनलाल चौधरी, रकामकुमार थारु, प्रभा चौधरी, रञ्जित चौधरी, माओवादी केन्द्रका सीताराम थारु, काँग्रेसका राधेश्याम चौधरी, नेपाल लोकतान्त्रिक पार्टीका जग्गनाथ चौधरी, पार्वती चौधरीलगायतका नेताहरु उन्मुक्ति पार्टीमा आज प्रवेश गर्न लागेका हुन् । त्यस्तै, थरूहट आन्दोलनका अगुवा तथा अधिकारकर्मी वासुदेव चौधरी, ओमप्रकाश चौधरी, इन्दु चौधरी, मनोज लोहार लगायत पश्चिमका थुप्रै थारुहरु उन्मुक्ति पार्टीमा आवद्ध हुन लागेको थरूहट आन्दोलनका अगुवा सुरेन्द्र चौधरीले बताए । नयाँ पार्टी भएपनि स्थानीय चुनावमा राम्रो नतिजा ल्याउन सफल भएको हुनाले सो पार्टीप्रति सबैको आकर्षण बढ्दै गइरहेको छ।