काठमाडौँ , ८ असार । नेकपा एमालेका सांसद तथा पूर्वगृहमन्त्री भीम रावलले आफूले इम्बोस्ड नम्बर प्लेट नराख्ने बताएका छन् । बुधबार संसद्को राज्य निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको छलफलमा रावलले इम्बोस्ड नम्बर प्लेट नराख्ने बताएका हुन् ।
संविधानविपरीत इम्बोस्ड नम्बर प्लेट अंग्रेजीमा राख्न ठूलो चलखेल भएको समेत रावलले बताए । छलफलमा रावलले भने, ‘म इम्बोस्ड नम्बर हाल्दै हाल्दिनँ । बरु सरकारले एक वर्ष जेल हाल्ने भनेको छ हालोस् । म एक वर्ष जेल जान तयार छु ।’
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी दर्ता नवीकरण गर्नेले, नयाँ दर्ता गर्ने र सरकारी सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको छ । बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव नै उपस्थित नभएपछि बैठक भने बस्न सकेन । समितिले मन्त्रीलाई उपस्थित गराएर मात्र छलफल गर्ने पनि बताएको छ ।सरकारले गत कात्तिक २२ मा राजपत्रमा सूचना प्रकाशन गर्दै मंसिर १ देखि नाम टुंगिएका सबै प्रदेशमा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने भनेको थियो ।
यस अवधिमा जडान नगरे कारबाही गर्नेसम्मको चेतावनी दिएपछि यसको सर्वत्र विरोध भयो । तर पछि फेरि विभागले नम्बर प्लेट अनिवार्य गर्दै निर्णयमा लचिलो बन्दै साउन १ बाट सबै सवारीमा इम्बोस्ड नम्बर अनिवार्य नभनिएको र राजपत्रमा प्रकाशित सूचनालाई निरन्तरता दिइएको जनाएको छ ।