कञ्चनपु,७ असार/नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (तत्कालीन वन्यजन्तु आरक्ष)बाट विस्थापितहरुको समस्या समाधान गर्ने आश्वासन दिएका छन्।
गृहजिल्ला कञ्चनपुरका नवनिर्वाचित जनप्रतिनिधिलाई निर्देशन सम्बोधनका क्रममा नेता साउदले नयाँ आयोग गठन गरेर समस्या समाधान गरिने बताएका हुन्।
‘जति पनि शिविर छन्, शिविरका लागि कार्यक्रम ल्याउँछौं। आरक्षको समस्या हामी समाधान गर्छौं। आरक्षको आयोग हामी गठन गर्छौं। यहीँ सरकारले गठन गर्छ,’ उनले भने, ‘आरक्ष आयोग गठन गरेर सरकारले समस्या समाधान गर्छ।’
नेता साउदले सुकुम्बासीलाई भूआयोगमार्फत जग्गा दिने पनि बताए। ‘जिल्लाभित्र भूमिहीनलाई आयोगमार्फत लालपूर्जा पनि वितरण गर्छौं। यही सरकारले जग्गा दिन्छ,’ उनले भने।
उनले भ्रष्टाचार नगर्न र जनताको पक्षमा अनुशासित भएर वास्तविक काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिए। पुराना तिक्तता मेटाई पार्टीमा एकता गरेर अघि बढ्न उनले नेता कार्यकर्तालाई नेता साउदले अनुरोधसमेत गरेका थिए।