बाजुरा, २ जेठ/ नेपाली कांग्रेसले बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ।
पुन: चुनाव गर्ने भनेको लामो समय भइसक्दा पनि चुनावको मिति घोषणा नभएको कांग्रेसले विज्ञप्ति निकालेर उल्लेख गरेको छ।गएको वैशाख ३० मा सम्पन्न चुनावमा यहाँ ‘बुथ कब्जा’ भएको भन्दै निर्वाचन आयोगले पुन: चुनाव गर्ने निर्णय गरेको थियो।
‘केन्द्रीय निर्वाचन आयोगको अबिलम्ब निर्वाचन गर्ने निर्णयविपरीत निर्वाचनको मिति घोषणा नगर्नुका पछाडी बदनियत के हो? संशय उत्पन्न भएको छ,’ जिल्ला सभापति रामसिंह रावलले बुधबार निकालेको विज्ञप्तिमा भनिएको छ।कांग्रेस सभापति रावलले तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गरेका हुन् ।
बुधबार सर्वदलीय बैठक भए पनि निर्वाचनको मिति घोषणामा सहमति हुन सकेको थिएन। एमालेका नेताहरू बीचमै बैठक छाडेर गएका थिए।एमालेले वैशाख ३० मै मतदान भएकोले उक्त मत गणना गरिनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिएको थियो।
कांग्रेसले भने बुढीगंगामा जनप्रतिनिधिविहीन हुँदा जनताले दु:ख पाएकोले गम्भीर भएर पुन: निर्वाचनको मिति तय गरिनुपर्ने माग गर्दै आएको छ।साथै ,लोकतन्त्रको रक्षाका निम्ति नेपाली कांग्रेस आन्दोलनमा उत्रन बाध्य हुने समेत विज्ञप्तिमा भनिएको छ ।