लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोहन्सन हाल जारी रुस–युक्रेन युद्धबारे छलफल गर्न स्विडेन र फिनल्यान्डको भ्रमणमा निस्किएका छन् । अहिले ती दुवै मुलुक आफैं पनि उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सदस्यता लिने वा नलिने भन्नेबारे गम्भीर छलफलमा जुटिरहेका छन् ।
बुधबारबाट भ्रमण सुरु गरी जोहन्सनले २४ घन्टाभित्रै दुवै मुलुकका नेताहरूलाई भेटिसक्ने कार्यक्रम रहेको छ । उनले युक्रेनमा जारी रहेको रुसी फौजको आक्रमणबारे युरोपको प्रतिक्रियाबारे छलफल गर्ने अपेक्षा गरिएको छ । जोहन्सनका आधिकारिक प्रवक्ताले भनेका छन्, “यो भ्रमण युरोपको थप बहत् सुरक्षाबारे केन्द्रित हुनाले प्रधानमन्त्रीले यी बृहत् सुरक्षा विषयहरूमा छलफल गर्नेछन् ।
“ती दुई मुलुकले नेटोको सदस्यता लिने सम्भावनाबारे पनि छलफल होला त ?” भन्ने प्रश्नको जवाफमा प्रवक्ताले भनेका छन्, “नेटोको सदस्यता जस्तो विषयमा निर्णय गर्नका लागि हामी प्रजातान्त्रिक क्षमतालाई समर्थन गर्दछौँ ।” जोहन्सनले स्वदेश फर्किनुअघि दुवै मुलुकमा पत्रकार सम्मेलन गर्ने भएका छन् ।
दोश्रोे विश्वयुद्धको समाप्तिसँगै गठन भएको नेटोमा हाल ३० वटा सदस्य राष्ट्र रहेका छन् । ब्रसेल्समा प्रधान कार्यालय रहेको यसमा अमेरिकाको बृहत् सेना र आणविक क्षेप्यास्त्र शक्तिको हावी रहेको छ ।