बैतडी, १ असार । सुदूरपश्चिम प्रदेशका तीन जिल्ला बैतडी, बझाङ र दार्चुला जोड्ने मुख्य बजारका रुपमा रहेको बैतडीस्थित पाटन नगरपालिका–८ खोड्पेमा खानेपानीको चरम अभाव भएको छ । गएको पाँच दिनदेखि यहाँ खानेपानीको हाहाकार भएको हो ।
खानेपानीको आपूर्ति गर्दा आएको सिद्धेश्वर खानेपानी योजनामा समस्या आएपछि यहाँ खानेपानीको समस्या आएको हो । लिफ्टिङ प्रणालीबाट सञ्चालन हुँदै आएको भए पनि हाल त्यस क्षेत्रको विद्युत् लाइनमा खराबी आएसँगै खानेपानी अवरुद्ध भएको खानेपानी योजनाका सचिव मोहन बिष्टले जानकारी दिए ।
खानेपानीको हाहाकार हुँदा यहाँका होटेल व्यवसायी, कार्यालय, यात्रुहरूलाई समेत समस्या हुने गरेको छ । खानेपानीको समस्या भएपछि निकै समस्या भएको होटेल व्यवसायी सन्तोष राईले बताए । उनले भने, “खानेपानी नभएकै कारणले चार दिनदेखि होटेलको व्यापार सुस्ता छ, यसले गर्दा निकै घाटा ब्यहोर्नुपरेको छ ।”खानेपानीको समस्या समाधानका लागि पहल भइरहेको पाटन नगरपालिका– ८ का वडाध्यक्ष हरिश बिष्टले बताए ।
यसैबीच खोड्पेमा दमकलबाट खानेपानीको आपूर्ति गर्न थालिएको छ । पाँच दिनदेखि अवरुद्ध बनेपछि पाटन नगरपालिकाको दमकलबाट खानेपानीको आपूर्ति गरिन लागिएको हो । दमकलबाटै भए पनि खानेपानीको परिपूर्ति गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्षसमेत रहेका पाटन–८ का वडाध्यक्ष हरिश बिष्टले जानकारी दिए।