भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सुरक्षाकर्मी (स्पेसल प्रोटेक्सन गार्ड) लिएर विमान अवतरण भएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी जेठ २ गते बुद्ध जयन्तीका दिन लुम्बिनी आउँदैछन् । मोदीको लुम्बिनी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मीलाई लिएर विमान आएको छ । विमान बुधवार बिहान आएको हो ।
यससँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने यो पहिलो अन्तर्राष्ट्रिय विमान हुन पुगेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ ले कूटनीतिक उडान गरेको छ ।
दिल्लीबाट सिधैं भैरहवा आएको विमानमा एसपीजीको टोली आएको छ ।मोदीको भ्रमण पूर्व सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी लुम्बिनी आइपुगेका छन् । उनीहरूलाई छाडेर विमान बुधवार फिर्ता जाने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता साहले बताए ।