यार्सागुम्बा पाउनै मुस्किल भएपछि फर्कदै संकलकहरु


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
यार्सागुम्बा पाउनै मुस्किल भएपछि फर्कदै संकलकहरु

दार्चुला, ३१ जेठ। दार्चुलामा यार्सागुम्बा पाउनै मुस्किल भएपछि संकलकहरु फर्कन थालेका छन् । हरेक वर्ष पाटन उक्लिने भीडका कारण यो वर्ष यार्सागुम्बा संकलनमा कमी आएको हो ।

यार्सा पाउनै मुस्किल भएपछि लेक उक्लिएका स्थानीय घर फर्कन थालेका छन् । अपी हिमाललगायतका पाटनहरूमा यार्सागुम्बा संकलनका लागि गएका स्थानीयले पछिल्लो समय यार्सामा कमी आउन थालेको बताएका छन् । अपी हिमाल गाउँपालिका–१ का नयनसिंह धामीले पाटन गएका संकलकहरू धेरैजसो घर फर्किरहेको बताए । ‘अव्यवस्थित तरिकाले यार्सागुम्बा संकलन गरिए उच्च लेकाली भेगका पाटनमा पाइने यार्सागुम्बा लोप हुने जोखिम छ,’ उनले भने । दार्चुलावासीको मुख्य आयस्रोतका रूपमा रहेको यो जडीबुटी व्यापक रूपमा अव्यवस्थित तवरले दोहन हुँदा लोप हुने चिन्तामा स्थानीय रहेको धामीले बताए ।

स्थानीयसँगै जिल्ला बाहिरका मानिस पनि यार्चागुम्बु संकलनका लागि दार्चुला पाटनहरूमा धेरै आएका छन् । स्थानीय पनि व्यवस्थित रूपमा संकलन नगर्ने र बाहिरका मानिसलाई त जसरी संकलन गरे पनि समस्या नरहेको उनको भनाइ छ । गत वर्ष करिब डेढ लाख मूल्य बराबरको यार्सागुम्बा संकलन गरेका अपी हिमाल गाउँपालिका–६ का विशनसिंह बुढाथोकीले यो वर्ष करिब एक महिनाको अवधिमा ५० हजारसम्म बढी आम्दानी हुन नसकेको बताए । ‘पोहोरभन्दा यो वर्ष संकलनमा आधा कमी आएको छ’ उनले भने, ‘बर्सेनि एकै ठाउँमा संकलन गरिने र यो बर्ष हामीले संकलन गर्ने पाटनमा पोहोरभन्दा तेब्बर मानिसहरू रहेकाले संकलनमा कमी आएको हो ।’ उनले दिनहुँ संकलनमा कमी आइरहेकोले दुईरतीनमा घर फर्कने सोच बनाएको बताए । ‘गत वर्षको यार्सा संकलनबाट ६ महिनाको घर खर्च चलेको थियो, यसपाला मुस्किल छ’ उनले भने ।

जिल्लाका अपी हिमाल, ब्यास, नौगाड, मार्मा र दुहुका अधिकांश स्थानीय यार्चागुम्बु संकलनबाट जीविकोपार्जन गर्छन् । अहिले यहाँका मानिस घरमा ताल्चा लगाएर लेकतिर गएका छन् । एक/दुई महिनाको यार्सागुम्बालगायतको जडीबुटी संकलन गरेर वर्षभरिको खर्च जोहो गर्ने गरेको अपी हिमाल गाउॅपालिका–१ का वडाध्यक्ष पोखरसिंह लोथ्यालले बताए । यहाँका स्थानीयको आम्दानीको प्रमुख स्रोतको रूपमा रहेको यार्सागुम्बालगायतका जडीबुटी संकलनलाई व्यवस्थित रूपमा गर्न स्थानीय सरकारदेखि अन्य सरोकारवाला निकायले समयमै ध्यान पुर्‍याउन नसके केही वर्षमै लोप हुने खतरा रहेको उनको भनाइ छ । आर्थिक उपार्जनका लागि यार्सा संकलन गर्न लेकतिर गएका अधिकांश गाउँका स्थानीयवासी अहिले निराश बनेर घर फर्किरहेका छन् । यसपालि यार्सागुम्बाको सिजन राम्रो नभएको उनीहरू बताउँछन् । दैनिक २५/३० गोटा यार्चा पाउने मानिस यसपाला ३ देखि बढीमा ७ गोटामा सीमित छन् । खेतबारीमा लगाएको अन्नले तीन महिना नपुग्ने हिमाली क्षेत्रमा बसोबास गर्ने परिवारको यार्सागुम्बा संकलनबाट वर्षभरिको खाद्यान्न जोहो हुन्छ ।
जोखिम मोलेर यहाँका स्थानीय यार्सा संकलन गरेर जीवन निर्वाह गर्दै आएको व्यास गाउँपालिका–६ स्थित हिमालय माविका शिक्षक हरकसिंह खातीले बताए । सबैले यो सिजनको यार्चा संकलन नै आम्दानीको आधार बनाउँदै आएका छन् । तर, पछिल्लो समयमा यार्चाको संकलन क्रमिक रूपमा घट्दै गएको छ । अव्यवस्थित रूपमा समय अगावै यार्सा संकलन गरिने हुनाले यसको संकलन घटेको हुन सक्ने उनको भनाइ छ ।‘हिमाली क्षेत्रका स्थानीयवासीको आर्थिक स्रोतका रूपमा विकल्प नभएपछि अनुमतिबिनै यार्चागुम्बु संकलन गर्नुपर्ने उनीहरूको बाध्यता हो,’ शिक्षक खातीले भने, ‘हिमाली क्षेत्रका जनताको आयको प्रमुख स्रोत भनेकै जडीबुटी हो ।’ उनका अनुसार कोरोना महामारीका बीच पनि पेट पाल्नकै लागि पाटनतिर जानुपर्ने उनीहरूको रहर नभएर बाध्यता हो । रोगले भन्दा पनि भोकले मरिन्छ कि भन्ने चिन्ता हिमाली क्षेत्रका स्थानीयमा लागेको छ । विगतमा यो बेला विद्यालय बन्द गराएर हिमाली क्षेत्रका स्थानीय सबै यार्चागुम्बु संकलन गर्न विद्यार्थी, शिक्षकलगायतका कर्मचारी जाने गरेका थिए । तीनदेखि चार हजार मिटरको उचाइमा पाइने यार्चागुम्बु टिप्नका लागि जेठ पहिलो सातादेखि अनुमति जारी हुँदै आएको थियो । यसपटक अधिकांश बिनाअनुमति नै यार्सा टिप्न लेकतिर गएका हुन् ।कान्तीपुर/मनोजबडु