काठमाडौं,३१ जेठ । बर्नलीले म्यानचेष्टर सिटीका पूर्व कप्तान भिनसेन्ट कोम्पनीलाई प्रशिक्षक नियुक्त गरेको छ ।
यसअघि घरेलु क्लब एन्डरलेक्टको प्रशिक्षक रहेका कोम्पनी च्याम्पियनसिप क्लबमार्फत प्रशिक्षकको भूमिकामा इंग्ल्याण्ड फर्किएका हुन् । दुई वर्ष एन्डरलेक्टका प्रशिक्षक रहेका कोम्पनीले आपसी सहमतिमा बेल्जियन क्लब छाडेका थिए ।
३६ वर्षीय कोम्पनीले अब बर्नलीमा माइक ज्याक्सनको स्थान लिनेछन् । गत अप्रिलमा सिन डायचलाई बर्खास्त गर्दै बर्नलीले माइकलाई अन्तरिम प्रशिक्षक बनाएको थियो तर उनले टिमलाई प्रिमियर लिग रेलिगेसनबाट बचाउन सकेनन् ।
बर्नलीमा अनुबन्ध भएपछि कोम्पनीले आफू चुनौतीका लागि उत्साहित रहेको बताए । ‘म अगाडिको चुनौतीलाई लिएर उत्साहित छु’, कोम्पनीले भने ‘बर्नली साँच्चै ऐतिहासिक इंग्लिस क्लब हो । फस्ट टिमको म्यानेजर नियुक्त हुँदा सम्मानित भएको छु ।’
कोम्पनीले यसअघि ११ वर्ष सिटीबाट फुटबल खेल्दा चार प्रिमियर लिग सहित १० उपाधि जितेका थिए ।