धनगढी, ३० जेठ। कैलालीमा जिल्ला समन्वय समिति गठनका लागि मतदान सुरू भएको छ । बिहान साढे ७ बजेदेखि मतदान सुरू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पहिलो भोट गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्टले हालेका छन् । जिल्ला समन्वय समितिको निर्वाचनका लागि सत्ता गठबन्धनमा आबद्ध दलबीच तालमेल भएको छ भने एमाले र नागरिक उन्मुक्ति पार्टीले छुट्टै तालमेल गरेका छन् ।
समितिको प्रमुख पदका लागि नेपाली कांग्रेसका तर्फबाट पदम कलेल र नागरिक उन्मुक्ति पार्टीबाट इन्द्र चौधरीको उमेदवारी छ । जिल्लामा १३ पालिकाका २६ जना मतदाता छन् । तर, भ्रष्टाचार अभियोगमा विशेष अदालतमा विचाराधीन मुद्दाका कारण मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले चुनावी प्रक्रियामा सहभागी हुन नपाउने निर्वाचन आयोगको निर्णयपछि मतदाता संख्या २५ मा झरेको छ ।
२५ जनामध्ये सत्ता गठबन्धनका १२ जना छन् । अर्काेतर्फ कैलालीमा नागरिक उन्मुक्ति पार्टी र नेकपा एमालेले तालमेल गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका ७ र एमालेका ५ मतदाता जोड्दा उनीहरूको पनि १२ पुग्छ । यस्तो अवस्थामा धनगढी उपमहानगरपालिकामा स्वतन्त्र जितेका गोपाल हमाल जिसस चुनावमा निर्णायक हुने देखिएका छन् ।