चालू आर्थिक वर्ष २०७८/७९ को ९ महिनाको अवधिमा नेपालको वैदेशिक व्यापार घाटाको खाडल १३ खर्ब ६ अर्ब रुपैयाँ पुगिसकेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा १० खर्ब १६ अर्ब रुपैयाँमा सीमित थियो, जुन यो वर्षको भन्दा २८ प्रतिशतले कम हो ।गत आर्थिक वर्षको ९ महिनाको तुलनामा यस वर्षको सोही अवधिको तुलनामा नेपालको व्यापार घाटा थप चुलिएको देखिन्छ । उच्च गतिमा आयात बढ्नु अनि सोही गतिमा निर्यात नबढ्नु नै व्यापार घाटा चुलिनुको मुख्य कारण हो । यस अवधिमा विदेशबाट १४ खर्ब ६६ अर्ब रुपैयाँको वस्तु आयात भएको छ ।गत आर्थिक वर्षको ९ महिनामा यस्तो आयात ११ खर्ब ११ अर्ब रुपैयाँ थियो, जुन यो वर्षको ९ महिनामा भएको आयातको तुलनामा ३१ प्रतिशतले कम हो । यस्तै गत वर्षको ९ महिनामा ९४ अर्बमा सीमित नेपालको निर्यात १ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । गत वर्षको तुलनामा ६९ प्रतिशतले निर्यात बढे पनि आयातको तुलनामा उल्लेख्य गतिमा बढ्न सकेको छैन ।नेपालसँग व्यापार सम्बन्ध रहेका अधिकांश मुलुकसँग निर्यातको कमी नै प्रत्येक वर्ष ठूलो मात्रामा व्यापार घाटा बेहोर्नुको मुख्य कारण रहेको दखिन्छ । चालू आर्थिक वर्षको यस अवधिमा नेपालले विश्वका १६२ देशसँग व्यापार गरेको छ । यीमध्ये १३० मुलुकसँगको व्यापार घाटामा छ । बाँकी ३२ मुलुकसँगको व्यापारमा मात्रै नाफा देखिएको छ ।गत आर्थिक वर्षको सोही अवधिमा नेपालले विश्वका १५३ मुलुकसँग व्यापार गरेको थियो । जसमध्ये २७ देशसँगको व्यापार मात्रा नाफामा थियो भने बाँकी १२६ देशसँगको व्यापार घाटामा थियो । नेपाल नाफामा रहेको मुलुकहरूतर्फको निर्यात न्यून गतिमा छ भने आयात उच्च गतिमा भइरहेको हुन्छ । सबैभन्दा धेरै घाटा चीन र भारतसँग
व्यापार घाटा रहेका मुलुकमध्ये भारत र चीन सबैभन्दा अगाडि छन् । ९ महिनाको अवधिमा नेपाललाई भारतसँग सबैभन्दा बढी ७ खर्ब ७३ अर्ब रुपैयाँको व्यापार घाटा भएको छ । यस अवधिमा नेपालबाट १ खर्ब २७ अर्ब निर्यात हुँदा भारतबाट ९ खर्ब १ अर्ब रुपैयाँको आयात भएको छ ।
यस्तै व्यापार घाटा भइरहेको मुलुकको दोस्रो सूचीमा उत्तरी छिमेकी मुलुक चीन छ । चीनबाट ९ महिनामा २ खर्ब ११ अर्ब रुपैयाँको आयात हुँदा यही अवधिमा जम्मा ६२ करोड रुपैयाँको निर्यात भएको छ । फलस्वरूप नेपाललाई यस अवधिमा २ खर्ब १० अर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा छ ।यसबाहेक इन्डोनेसियासँग ३९ अर्ब, संयुक्त अरब इमिरेट्स (यूएई) सँग ३७ अर्ब, अर्जेन्टिनासँग ३२ अर्ब, अमेरिकासँग २५ अर्ब, युक्रेनसँग १९ अर्ब, अस्ट्रेलियासँग १८ अर्ब, मलेसियासँग १३ अर्ब, ब्राजिलसँग १० अर्ब र थाइल्यान्डसँग ९ अर्ब रुपैयाँ व्यापार घाटा छ । यी मुलुकबाट आयात मात्रै हुन्छ, छैन निर्यात
नेपालको व्यापारिक सम्बन्ध रहेका मध्ये ३७ वटा देशबाट नेपालतर्फ एककोहोरो आयात मात्रै हुने गरेको पाइएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार कुल व्यापार सम्बन्ध रहेका १६२ मध्ये ३७ देशतर्फ नेपालबाट निर्यात नै हुँदैन ।