विवादकी पर्याय हुन्, पूजा शर्मा । उनी आफ्नै अभिव्यक्तिले बेला बखतमा नराम्रोसँग विवादमा तानिने गरेकी हुन्छिन् । गत वर्ष फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिजको समयमा अभिनेता पल शाहको पक्षमा वकालत गर्ने क्रममा नाबालिगको चरित्रमाथि प्रश्न उठाउने अभिव्यक्ति दिएपछि उनको व्यापक विरोध र आलोचना भयो । यसपछि उनले मिडियासँग दुरी नै बनाएर बसेकी छन् ।
उनी अभिनीत दुई फिल्म ‘सम्हालिन्छ कहिले मन’ र ‘सम्झना बिर्सना’ प्रदर्शनको पखाईमा छ । उनले अभिनय गर्ने नयाँ फिल्मको बारेमा भने जानकारी बाहिरिएको छैन । तर, केही समयदेखि उनी शरीर मेन्टेन्टदेखि डान्स सिकिरहेकी छन्, जुन नयाँ फिल्मका लागि हुनसक्ने चर्चा चलिरहेको छ । उनले मंगलवार इन्स्टाग्राममा आफ्नो बडीको एब्स देखाउँदै एक तस्विर शेयर गरेकी छन् ।
पूजाले एब्स निकाल्ने गरी जिममा गरेको मेहेनत हेर्दा उनी नयाँ फिल्ममा एक्सन अवतारमा प्रस्तुत हुन लागेको अनुमान काट्न सकिन्छ । उनका जिम र डान्स ट्रेनर विर्जु पार्की हुन् । डेब्यू फिल्मदेखि लभर गर्लको रुपमा प्रस्तुत हुँदै आएकी पूजालाई दर्शकले अब भिन्न-भिन्न भूमिकामा हेर्ने इच्छा देखाएका छन् । पूजा पनि एकैखाले चरित्रबाट बाहिर निस्कन चाहेको निकट स्रोत बताउँछ ।
पूजा पछिल्लो समय प्रेम सम्बन्धका कारण चर्चामा छिन् । उनले फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिज लगत्तै युद्ध बानियाँसँगको प्रेम सम्बन्ध स्वीकार गरेकी थिइन् । उनले फिल्मको देश दौडाहामा पनि प्रेमीको साथ छाडेकी थिइनन् । यसै वर्ष प्रेमी बानियाँसँग विवाह बन्धनमा बाँधिने योजनामा उनी छिन् । आगामी असारमा उनीहरुबीच इन्गेजमेन्टको तयारी भइरहेको जानकारी प्राप्त छ ।