युक्रेन युद्ध: सेभेरोडोनेट्स्कको लडाइँले पूर्वी क्षेत्रमा युद्धको नतिजा ‘निर्धारण गर्ने’, राष्ट्रसङ्घ के भन्छ?


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
युक्रेन युद्ध: सेभेरोडोनेट्स्कको लडाइँले पूर्वी क्षेत्रमा युद्धको नतिजा ‘निर्धारण गर्ने’, राष्ट्रसङ्घ के भन्छ?

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले सेभेरोडोनेट्स्क सहरका लागि भइरहेको लडाइँले देशको पूर्वी क्षेत्रमा युद्धको परिणामलाई निर्धारण गर्न सक्ने बताएका छन्।

“धेरै सन्दर्भमा डोन्बासको भाग्य तय भइरहेको छ,” उनले भने।

उक्त औद्योगिक क्षेत्रमा रुसी र पृथकतावादीसँग युक्रेनी फौजको लडाइँ जारी रहेका बेला उनको उक्त भनाइ आएको हो।

उनले आफ्नो सेनाले “शत्रु सेना”लाई ठूलो क्षति पुर्‍याइरहेको बताए।

तर उक्त क्षेत्रमा उच्च युक्रेनी अधिकारीका अनुसार युक्रेनी सेना सहरको बाहिरी भागमा धकेलिएको छ।

लुहान्स्कका गभर्नर सेर्हेई हाइडाईले रुसले “गोलाबारी र हवाई हमलाहरू गर्न थालेपछि” विशेष सैन्य बल फिर्ता भएको बताएका छन्।

“हाम्रो [फौज] ले फेरि सहरको बाहिरी भाग मात्र नियन्त्रण गरेको छ,” उनले स्थानीय सञ्चारमाध्यमसँग भने।

“तर लडाइँ अझै जारी छ, हाम्रा [सैनिकहरू] ले सेभेरोडोनेट्स्कको रक्षा गरिरहेका छन्।”

“रुसीहरूले शहरलाई पूर्ण रूपमा नियन्त्रण गर्छन् भन्न असम्भव छ।”

करिब १५ हजार नागरिकहरू सेभेरोडोनेट्स्क र नजिकैको सहर लिसिचान्स्कमा रहेको गभर्नरले बताएका छन्।

रुसले बुधवार युक्रेनले डोन्बासमा “जनशक्ति, हतियार र सैन्य उपकरणको उल्लेखनीय क्षति” भोगिरहेको बताएको थियो।

युक्रेन युद्धका कारण किन विश्वभरि आर्थिक मन्दी हुन सक्छ

राष्ट्रसङ्घीय पारमाणविक निगरानी निकायसँग युक्रेन किन क्रुद्ध

गत मार्चको अन्त्यमा युक्रेनको राजधानी किएभ वरपरको क्षेत्रबाट रुसी सेना फिर्ता भएपछि युद्धको केन्द्रबिन्दु पूर्वी क्षेत्र भएको छ।

सन् २०१४/१५ मा भएको लडाइँपछि डोन्बासको ठूलो भाग रुसी समर्थित पृथकतावादीहरूको नियन्त्रणमा छ।

राष्ट्रसङ्का महासचिवको चेतावनी

यसैबीच संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले रुसी आक्रमणले विश्वको अवस्था खराब भइरहेको चेतावनी दिएका छन्।

उनले उक्त युद्धका कारण एक अर्ब ६० करोड मानिसहरू प्रभावित भएको बताए।

“खाद्य सुरक्षा, ऊर्जा र वित्तिय क्षेत्रमा युद्धको प्रभाव प्रणालीगत, गम्भीर र तीव्र छ,” उनले भने।

बीबीसी न्यूजसँगको अन्तर्वार्तामा विश्व व्यापार सङ्गठनकी महानिर्देशकले हस्तक्षेप नगरिए खाद्य सङ्कट वर्षौंसम्म रहनसक्ने चेतावनी दिएकी छन्।

उनका भनाइमा विशेषगरी अफ्रिकी देशहरू गहुँ र मलको अभावबाट प्रभावित हुन सक्छन्।

युद्धका कारण अहिले पनि लाखौँ टन अन्न युक्रेनी बन्दरगाहका गोदामहरूमा थन्किरहेका छन् र त्यो अन्नलाई निर्यात गर्नसक्ने अवस्था छैन।

भ्रामक टिकटकको चपेटामा युक्रेन युद्ध

युक्रेन युद्धको अग्रपङ्क्तिमा स्वयंसेवी महिला लडाकु

पश्चिमा देशहरूले लगाएका विभिन्न प्रतिबन्ध, कम्पनीहरूको ठूलो सङ्ख्यामा पलायन र निर्यातमा आएको गिरावटका कारण रुसी अर्थतन्त्र यो वर्षको अन्त्यसम्ममा १५ प्रतिशत र आगामी वर्ष थप तीन प्रतिशतले सङ्कुचित हुने विश्व ब्याङ्किक विज्ञहरूको विश्वास छ।

युरोपले रुसी उर्जाबाट आफूलाई पूर्ण रूपमा मुक्त गर्‍यो भने यो तथ्याङ्क अझै खराब हुनसक्ने कतिपयको चेतावनी छ।

रुसले २४ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेको हो।

राष्ट्रसङ्घका अनुसार युद्ध सुरु भएदेखि कम्तीमा ४ हजार २ सय ५३ सर्वसाधारणहरू मारिएका छन् भने ५ हजार १ सय ४१ जना घाइते भएका छन्।

त्यस्तै दुवै पक्षका हजारौँ लडाकुहरूले ज्यान गुमाएका छन् भने १४ लाख भन्दा बढी मानिसले आफ्नो घर छोडेर भाग्न बाध्य भएका छन्।