बेलौरी, २४ जेठ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ भकुण्डा स्थित कालेश्वर महादेव मन्दिरमा गङ्गा दशहरा मेला आजबाट सुरु भएको छ । हरेक वर्ष जेठ महिनाको शुक्ल पक्ष दशमी तिथिका दिन मनाइने गङ्गा दशहरा पर्वका अवसरमा भकुण्डामा यस वर्ष यही जेठ २४ गतेदेखि २८ गतेसम्म भव्य मेलाको आयोजना गर्न लागेको मेला मूल आयोजक समितिका अध्यक्ष कन्हैया रानाले बताउनु भयो । “आफ्नो कला र संस्कृतिको जगेर्ना गरौँ, मेला क्षेत्रलाई शान्त र सफल बनाऔँ” भन्ने नारा सहित आयोजना हुन गइरहेको उक्त मेलामा कञ्चनपुर र कैलाली सहित सुदूरपश्चिमका विभिन्न जिल्लाबाट र छिमेकी राष्ट्र भारतबाट समेत भक्तजनहरू आउने गर्दछन् ।
कालेश्वर महादेव मन्दिरको संरक्षण, संवर्द्धन तथा प्रचारप्रसारमा समेत टेवा पुर्याउने उद्देश्यले मेला आयोजना गर्न लागेको अध्यक्ष रानाले जानकारी दिनुभयो । यस वर्ष भकुण्डामा हुन लागेको गङ्गा दशहरा मेलालाई २० लाख भन्दा बढी दर्शनार्थीहरूले अवलोकन गर्ने अनुमान गरिएको मेला मूल आयोजक समितिले दाबी गरेको छ । मेला स्थलमा सांस्कृतिक, मनोरञ्जनात्मक लगायत विभिन्न स्टलहरू भरिभराउ रहेका छन् । मेला मूल आयोजक समितिका अनुसार, मन्दिर क्षेत्रलाई हिंसा मुक्त घोषणा गरिएको हुँदा चारैतिर २ किलोमिटर आसपासको क्षेत्रभित्र मदिरा, लागु औषध दुर्व्यसनी वा सेवन, माछा मासु तथा अण्डा आदि निषेध गरिएको छ । जुवा वा त्यस्तै प्रकृतिका खेलहरू समेत बन्देज गरिएको छ । उक्त कुराको अवज्ञा गरेको पाइए समितिको निर्णय अनुसार कारबाही गरिने समेत बताइएको छ ।
पौराणिक मान्यता अनुसार जेठ शुक्ल दशमीका दिन गङ्गा स्नान गर्नाले विशेष फल प्राप्त हुन्छ तसर्थ यस दिन गङ्गा वा अन्य कुनै पवित्र नदी एवं तलाउको पूजा अर्चनाका साथ भगवान् शिवलाई जलाभिषेक गरिन्छ । यस दिनको दान तथा उपवासको विशेष महत्त्व छ । दश प्रकारका पापको नाश हुने भएका कारण यस दिनलाई गङ्गा दशहरा भनिएको हो । कायिक, वाचिक एवं मानसिक गरी तीन वर्गमा पर्ने दश प्रकारका पाप यस दिन गरिने पुण्य कार्यबाट सहजै नाश हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।