धनगढी, २४ जेठ । कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। सोमबार जिल्लाको धनगढी उपमहानगरपालिका ३ मिलनचोक घर भई डोटीको जोरायल गाउँपालिका २ बुडरमा होटेल सञ्चालन गर्दै आएका ४५ वर्षीय प्रेमकुमार रेग्मी पक्राउ परेका हुन्।
कैलालीको गोदावरी नगरपालिका ४ गोदावरी चेक पोष्टस्थित से १ च ६२९ नम्बरको बोलेरो जिप चलाइरहेका रेग्मीले लगाएको सर्टको खल्तिबाट कालो प्लाष्टिकमा पोका पारी लुकाईछिपाई राखेको अवस्थामा उक्त परिमाणमा लागुऔषध र नगद फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।उनलाई अत्तरिया बजारमा लागुऔषध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा २० ग्राम ४१ मिलिग्राम खैरो हिरोइन र २० हजार नगदसहित पक्राउ गरिएको प्रहरीले बताएको छ।
उनीसँग प्रारम्भिक सोधपुछको क्रममा उक्त लागुऔषध कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ का ४८ वर्षीय दुग्गड भनिने तेजबहादुर खड्काबाट १ लाख २० हजारमा खरीद गरेको भनि खुल्न आएपछि खड्कालाई पनि पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। घटनाबारेमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।