अछाम, २३ जेठ । अछाममा रहस्यमय ढंगले मृत फेला परेका एक किशोरको शव तीन दिनसम्म उठ्न सकेकाे छैन । पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ का १६ वर्षीय विनोद शाहीको शनिबार बिहान घरनजिकैकाे भिरमा शव फेला परेकाे थियाे ।
१७ जेठकाे साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा भएको झगडापश्चात बेपत्ता भएका शाहीको शव शनिबार बिहान स्थानीयले फेला पारेका थिए । मध्य पहाडी राजमार्गमा पर्ने पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर ४ कुच्चीको भिरको खोंचमा उनको शव फेला परेको थियाे ।
मृतक किशाेरका आफन्तले कांग्रेसको योजना अनुसार हत्या भएको आरोप लगाएका छन् । निर्वाचनका क्रममा शाही एमालेकाे प्रचारमा सक्रिय थिए । साेही कारण उनकाे हत्या भएकाे आराेप एमाले निकटहरुले लगाइरहेका हुन् ।
बेपत्ता रहेका किशोर मृत भेटिएपश्चात् विनायक क्षेत्र तनावग्रस्त छ । विनायक बजारमा प्रदर्शन गर्नुका साथै मध्य पहाडी लोकमार्गमा आफन्तले चक्काजाम गर्दै आएका छन् । विनायक बजारमा चर्केकाे प्रदर्शन नियन्त्रणमा लिन शनिबार प्रहरीले ८ राउन्ड हवाई फायरसमेत गरेको थियो ।