बेलाैरी, २२ जेठ । विश्व वातावरण दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाईएको छ । यस वर्ष ‘केवल एक पृथ्वी’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘प्रकृतिसँग मेलमिलापमा दिगो रूपमा बाँच्ने’ भन्ने मूल विषयका साथ यो दिवस मनाईएको छ । नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापन : पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरिएका छन् । संयुक्त राष्ट्र सङ्घीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन पाँच तारिखको दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाउने गरिएको छ ।
विश्व वातावरण दिवसका अवसरमा कञ्चनपुरको बेलौरी नगरपालिका र एनएनएसडब्ल्युएको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम गरिएको छ । आइतबार बिहान बेलौरीको खुला मञ्चमा वृक्षारोपण कार्यक्रम गरिएको बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशीला लेखकले जानकारी दिनुभयो । त्यस क्रममा बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले वातावरण संरक्षणमा सबैको महत्त्वपूर्ण भूमिका रहने धारणा राख्नुभयो । दिवसका दिन मात्र नभई बेला मौकामा यस्ता कार्यहरू गरिरहनु पर्ने कार्यक्रममा सहभागी युवाहरूको भनाइ छ ।
वृक्षारोपण कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकाल सहितका जनप्रतिनिधिहरू, कर्मचारीहरू, इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दान सिंह भण्डारी र सशस्त्र प्रहरी बल बोडर आउट पोष्ट बेलौरीका प्रहरी निरीक्षक जयन्त डडाल सहितका सुरक्षाकर्मीहरू, राष्ट्रिय वाणिज्य बैङ्कका बेलौरी शाखा प्रबन्धक महेश राज भट्ट, बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष टेक बहादुर साउँद सहितका प्रतिनिधिहरू, एनएनएसडब्ल्युएका प्रतिनिधिहरू, बेलौरी खेलकुद विकास समिति, क्रियाशील युवा समूह, किशोर किशोरीहरू र सञ्चारकर्मीको समेत उपस्थिति रहेको थियो ।