वीरगन्ज, २२ जेठ/संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यपारी, किसान र मजदुरको हितमा सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको बताएका छन्। शनिबार वीरगन्ज उद्योग वाणिज्य संघको ४६औं साधरणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले नीजी क्षेत्रलाई दिएको सुझावहरुलाई समेटेर देश विकास र समृद्धिको नीतिमा नयाँ बजेट ल्याएको बताए।
आन्तरिक उत्पादन वृद्धिका माध्यमबाट दीगो अर्थतन्त्र निर्माण गर्ने उदेश्यले उद्योगलाई विद्युत महशुलममा छुट दिइएको, स्वदेशी उद्योगको संरक्षण गर्न निर्यातमा ८ प्रतिशतसम्म प्रोत्साहन रकम दिइएको, तयारी र कच्चा बस्तुको आयातमा लाग्दै आएको भन्सार दरमा एक तहको अन्तर कायम गरिएकोलगायत विषयबस्तु नयाँ बजेटमा समेटेर देशभरिका उद्योगी व्यवसायीको माग सम्बोधन गरिएको उनले बताए।
उनले किसानलाई ध्यानमा राखेर किसान पेन्सनको व्यवस्था गरिएको पनि बताए। अर्थमन्त्री शर्माले वीरगन्जका निजी क्षेत्रको सल्लाह र सुझावलाई पनि ध्यानमा राखेर नयाँ बजेट ल्याएको स्पष्ट पारे। नयाँ बजेटमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, तराई-काठमाडौं द्रूत मार्गलगायतका योजनालाई पनि नयाँ बजेटमा प्राथमिकतामा राखेर प्रयाप्त रकम विनियोजन गरिएको बताए।
सर्वोच्च अदालतले जेसुकै आदेश गरे पनि निजगढ विमानस्थल बनेरै छाड्ने प्रतिबद्धता पनि उनले गरे। मन्त्री शर्माले भने, ‘निजगढ विमानस्थल बनाउनुपर्छ, बन्छ, यो जनार्दन शर्माको प्रतिबद्धता भयो। त्यसैले सरकारले नयाँ बजेटमा निजगढ विमानस्थललाई उच्च प्राथमिकतामा राखेको छ।’
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमात्र नभइ मधेस र मुलुकै सर्वाङ्गीण आर्थिक विकासका लागि निजगढ विमानस्थल आवश्यक भएको तर्क गरे।
अर्थमन्त्री शर्माले दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना, कृषि औजार कारखाना सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउने पनि उनले बताए। बन्द कारखानाहरु सञ्चालनकै लागि नयाँ बजेटमा रकम राखिएको र सरकारले ६-७ महिना पहिले नै कर्मचारीको व्यवस्थापन पनि गर्न सुरु गरिसकेको जानकारी पनि उनले दिए।
शर्माले भने, ‘वीरगन्ज चिनी कारखाना चलाउने भनेरै बजेटमा उल्लेख छ। यो कुनै मजाक गरेको होइन। विगत ६-७ महिनादेखि निरन्तर यसबारे गरेको अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा बजेटमा कार्यक्रम राखिएको हो।
वीरगन्ज चिनी कारखाना सञ्चालनका लागि किसानलाई प्रोत्साहन गर्न र कच्चा पदार्थको उपलब्धता बढाउन वीरगन्ज क्षेत्रकै उद्योगी व्यवसायीले पनि सहयोग गर्नुपर्ने उनले बताए।
उद्योग वाणिज्य संघको कार्यक्रममा पुग्नुअघि अर्थमन्त्री शर्मा, अर्थसचिव मधु कुमार मरासिनी, राजस्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव भुपाल बराललगायतको टोलीले शनिबार बिहान वीरगन्ज चिनी काराखानाको स्थलगत निरीक्षण गरेका थिए।
त्यसक्रममा काराखानामा कार्यरत कर्मचारीहरुले चिनी कारखाना संचालन योग्य अवस्थामा रहेको जानकारी गराएका थिए। त्यही कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जका उद्योगी व्यवसायीसँग सहकार्य गरेर वीरगन्ज चिनी कारखाना सञ्चालन गर्न अर्थमन्त्री शर्मालाई सुझाव दिएका थिए।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर सुवोध गुप्ताको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रदेशका मन्त्री ओम प्रकाश शर्मा, पर्साका सांसद प्रदीप यादव, प्रदेशसभा सदस्य विभा यादव, वीरगन्जका मेयर राजेशमान सिंह, जितपुर-सिमरा उपमहानगरका मेयर राजन शर्मा पौडेललगायतको उपस्थिति थियो।