बाजुरा, १८ जेठ /राष्ट्रपति विद्यादेवी भण्डारीले धार्मीक आस्थाको धरोहर बडिमालिका माताको दर्शन गरेकी छन्। बुधबार बिहान १० बजेको समयमा शक्ति पीठकोरुपमा परिचित बडिमालिका माताको दर्शन गरेकी हुन्।
भण्डारी बडि मालिकाको दर्शन गरेर सुर्खेत फर्किसकेको बाजुराका डिएसपी प्रहरी नायव उपरीक्षक सूर्य थापाले बताएका छन्। अनौपचारिक भ्रमणको सिलसिलामा बडिमालिकाको दर्शन र पूजापाठ तथा अवलोकनका लागि भण्डारी बाजुरा आएकी हुन्।
नेपाली सेनाको बिशेष हेलिकोप्टरमार्फत बुधबार बिहान बाजुरा सदरमुकाम मार्तडीमा झरेकी थिइन्। विहान ७ः३० बजे सदरमुकाम मार्तडीस्थित नेपाली सेनाको दुर्गा भन्जन गुल्ममा केही समय आराम गरेर भण्डारी हेलिकप्टर मार्फत नै बडिमालिका गएकी हुन्।
बडिमालिका आउने कार्यक्रम अनुसार बाजुरा पुगेर भण्डारीले बडिमालिकाको अवलोकन तथा दर्शन गरेर सुर्खेत फर्किएको प्रमुख जिल्लाअधिकारी प्रकाशचन्द्र अधिकारीले बताएका छन्। नेपाली सेनाकै हेलिकप्टरबाट माताको दर्शनसहित पूजा आरधना सकेर सुर्खेत फर्किएकी छन्।
बडिमालिकालाई सुदूरपश्चिम र भारतको उत्तर प्रदेश क्षेत्रका अधिकांश भक्तजनहरुले प्रमुख आस्थाको धरोहरुका रुपमा मान्ने गरेका छन्। बडिमालिकामा गंगादशहरा र जनैपूर्णिमाको अघिल्लो दिन मेला लाग्ने गरेको छ।
खप्तडमा लाग्ने गंगादशहराका बेला देशका प्रतिष्ठित व्यक्तित्वहरुले बडिमालिका र खप्तडमा पूजाआजा गर्ने प्रचलन छ। खप्तडमा जेठ महिनामा लाग्ने गंगादशहराको पहिला नै बडिमालिकाको पूजा गर्ने प्रचलन अनुसार राष्ट्रपति भण्डारीले बडिमालिका माताको पूजा गर्नुको साथै पर्यटकीयस्थलको अवलोकन समेत गरेकी हुन्।
अन्य औपचारिक कार्यक्रम केही नभएकाले बडिमालिकाको दर्शन गरेर राष्ट्रपति भण्डारी काठमाडाैं फर्किने तालिका छ। तर अनौपचारिक भ्रमण भएकोले स्थानीय सर्वसाधारणदेखि सञ्चारकर्मीलाई समेत जानकारी गराइएको थिएन्।