धनगढी, १८ जेठ/६५ बर्षीय हेम बहादुर ऐर र उनकी श्रीमती ५५ बर्षीया पदमा देवी ऐरको दाम्पत्य जीवनको दर्दनाक अन्त्य भएको छ । हेम बहादुर मंगलबार बिहानै रुखमा झुण्डिएको अवस्थामा भेटिए भने उनकी श्रीमती पदमा सुतेकै कोठामा घाटी छिनालेको अवस्थामा रगतले लतपतिएको अवस्थामा भेटिइन् । कैलालीको गोदावरी नगरपालिका – ७ हरैयामा एकाबिहानै घटेको यो घटनाले अहिले गाउँमा सन्नाटा छाएको छ ।
८ बर्ष अगाडी डोटीको जोरायल गाउँपालिका – २ छतिवनबाट कैलाली झरेका ऐर दम्पतीको यसरी अन्त्य होला भनेर कसैले कल्पना सम्म गरेका थिएनन् । तर, मंगलबार बिहानै भने दुवै जनाको दर्दनाक अत्य देखेपछि घटनाको रहस्य खोतल्न प्रहरी संगै स्थानीय पनि लागेका छन ।
घटनाको प्रहरीले छानबिन गरिरहेको भएपनि प्रारम्भिक अनुसन्धान र स्थानीयको भनाईलाई आधार मानेर हेम बहादुर नै श्रीमतीको हत्या गरेर पछि आफूले आत्महत्या गरेको जनाएको छ ।
तर, जीवनको उत्तरार्धमा पुगेका हेम बहादुरले यसरी आफ्नै श्रीमतीको दर्दनाक हत्या कसरी गर्न सकेका होलान भन्ने कुरामा प्रहरी र स्थानीय आश्चर्य चकित परेका छन ।
मृत्युको खबर सुनेपछि छतिवनबाट मंगलबार दिउँसो हरैया पुगेका मृतकका दाई हुकुम बहादुर ऐरले भाई बुहारी बिच सामान्य वादविवाद भइरहने भएपनि यति सम्मको घटना घट्ला भन्ने आफूले कल्पना सम्म नगरेको बताए ।
‘संस्कारकै मान्छे हो । जाँडरक्सी पनि खान्थेन् । पहाड–तराई आवतजावत भइरहन्थ्यो’ उनले भने ‘बाहिर हेर्दा त राम्रै देखिन्थ्यो । भित्र के थियो थाहा भएन । झगडा भएर त त्यस्तो भएको होला ।’
उनले भाई बुहारी बिच झगडा भइरहने भएपनि त्यसले यस्तो रुप लिन सक्छ भन्ने कुरामा आफूलाई पत्याउनै गाह्रो भइरहेको बताए ।
‘हुन त भाई बुहारी दुवै रिसालु स्वभावकै थिए । रिसको झोकमा कही बुहारीको हत्या गरेर आफुले बाचेर के गर्ने भन्ने सोचेर आत्महत्या गरेको आशंका मलाई पनि लागेको छ । अर्कोतिर रिसको झोकमा घाटी नै रेट्न सम्म त नगर्नु पर्ने हो जस्तो पनि लागेको छ’ उनले भने ‘बाह्य व्यक्ति संग त्यस्तो झगडा पनि भएको जस्तो लाग्दैन । उमेर पनि भएकाले अब त्यस्तो नहोला भन्ने लागेको थियो । पछिल्लो १०÷१२ बर्ष यता सम्बन्ध राम्रै देखेको थिए । संगै पहाड तराई आवतजावत गर्ने, तिर्थ बर्त जाने गरेका थिए ।’
उनले भाई बुहारी बिच बढी जसो घरायसी बिषयमा झगडा हुने गरेको बताए ।
उनले भने ‘घरायसी बिषयमा झगडा हुन्थ्यो । दुवै त भन्दा के कम भन्ने हुन्थ्यो । रिसमा कुटपिट गरे पनि घाटी नै रेट्न नहुने ।’
मृतक ऐरका आमा, भाई र दाइको परिवार र २ बुहारी जोरायलमै बस्दै आएका थिए भने उनीसंग हरैयाको घरमा श्रीमती बुहारी र ४ बर्षको नाती बस्दै आएका थिए । साँझ खाना खाएर सुतेका ऐर दम्पतीको मृत्यु भएको बिषयमा बिहान ५ बजे मात्रै स्थानीयले पाएका थिए । स्थानीयले घर अगाडी बाटो छेउमा हेम बहादुरको शव रुखमा झुण्डिएको अवस्थामा देखेपछि घरमा खबर गर्दा श्रीमतीको पनि घाँटी रेटिएको कुरा थाहा पाएका थिए । मृतकी बुहारीले घटनाको बारेमा आफूले पनि स्थानीयले खबर गरेपछि बिहान मात्रै थाहा पाएको बताएकी छिन ।
मृतकका जेठो छोरा भारतमा रोजगारी गर्दै आएका छन भने माइलो छोरो सशस्त्र प्रहरीमा जागिरे छन । कान्छा छोरा भने कालिकोटमा जेसिबी चलाउँदै आएका छन । ऐरकी एक छोरी भएपनि उनको विवाह भइसकेको छ ।
छोरा सबै काममा लागेकाले उनको घरमा आर्थिक रुपमा खासै समस्या नरहेको उनका दाई हुकुमले बताए ।
स्थानीयले पनि श्रीमान, श्रीमती बिच झगडा भइरहने भएकाले हेम बहादुरले नै हत्या गरेर आत्महत्या गरेको बताइरहेका छन । यता प्रहरीले भने प्रारम्भिक अनुसन्धानमा श्रीमानले नै श्रीमतीको हत्या गरी आत्महत्या गरेको जस्तो देखिएको भएपनि घटनाको सुक्ष्म अध्ययन गरिरहेको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख एवम् प्रहरी नायब उपरिक्षक रविन्द्र पाण्डेयले घाटी रेटिएको अवस्थामा ओछ्यानमा भेटिएकी पदमाको शव नजिकै खुकुरी फेला परेको बताए । दुवै जनाको शव पोष्टमार्टमका लागि सेती प्रादेशीक अस्पताल धनगढीमा राखिएको छ ।