केही योजनामा बजेट, केहीमा अनिश्चितता


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
केही योजनामा बजेट, केहीमा अनिश्चितता

धनगढी, १६ जेठ/आइतबार संघीय सरकारले आगामी आर्थिक वर्ष ०७९/८० का लागि ल्याएको बजेटमा कञ्चनपुरमा केही पुराना योजना समेटिएका छन्। केही आयोजना छुटेका छन् भने केही नयाँ थप भएका छन्।

अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा प्रस्तुत गरेको बजेट वक्तव्यअनुसार चालू आर्थिक वर्षमा गौरवका योजनाअन्तर्गत घोषणा गरिएको महाकाली तेस्रो चरणको नहर निर्माणका लागि बजेट वृद्धि गरिएको छ। चालू आर्थिक वर्षमा महाकाली तेस्रो चरणका लागि एक अर्ब २५ करोड विनियोजन गरिएको थियो। आगामी आर्थिक वर्ष ०७९/८० मा २७ करोड वृद्धि गरेर एक अर्ब ५२ करोड विनियोजन गरिएको छ।

झन्डै डेढ दशकदेखि निर्माणकार्य सुरु भएको महाकाली तेस्रो चरणमा हाल १३ किलोमिटर निर्माणकार्य सम्पन्न भएको छ। बाँकी निर्माणकार्य जारी छ। बजेट अभावकै कारण महाकाली तेस्रो चरण कछुवा गतिमा छन्। निर्माणाधीन दोधाराचाँदनी जोड्ने मोटरेबल चार लेन महाकाली पक्की पुल निर्माणका लागि ४१ करोड विनियोजन गरिएको छ। आर्थिक वर्ष ०७७/७८ मा ८८ करोड, चालू आर्थिक वर्षमा ९० करोड विनियोजन गरिएको थियो। हालसम्म पुल निर्माण कार्य ७० प्रतिशत सकिएको छ। बाँकी काम गर्नका लागि थप एक अर्ब चाहिने बताइएको छ।

‘यस वर्ष तटबन्धको थप काम हुनेछ,’ महाकाली पुल कर्मचारी स्रोतले भन्यो, ‘हामीले मागेको एक अर्ब ३२ करोडको बजेट, सुन्नमा आएअनुसार ४१ करोड मात्रै विनियोजित देखियो।’ कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र विस्तारका लागि स्पष्ट बजेट सुनिश्चिता गरिएको छैन। दैजी औद्योगिक क्षेत्रको पूर्वाधारका लागि बजेट विनियोजन गरिएको घोषणा गरिए पनि कति भन्ने उल्लेख गरिएको छैन। चालू वर्षमा दैज औद्योगिक क्षेत्रलाई दुई वर्षभित्रै औद्योगिक पूर्वाधार निर्माण गर्ने घोषणा गरिएको थियो। १० फागुन ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले छेला औद्योगिक क्षेत्रको उद्घाटन गरेका थिए।

यस्तै, दोधाराचाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि समेत बजेटको सुनिश्चितता गरिएको छैन। सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अघि बढाइने उल्लेख गरिए पनि बजेट यकिन गरिएको छैन। महाकाली प्रादेशिक अस्पताललाई विश्वविद्यालयअन्तर्गत सहकार्य गरेर मेडिकल कलेज शिक्षण कलेजकै रूपमा अघि बढाउने योजना अघि सारिएको छ। महाकाली नदीसहितका ठूला नदी नियन्त्रणका लागि तीन अर्ब १९ करोड विनियोजन गरेको छ।

सीमावर्ती क्षेत्रका सहरलाई आर्थिक गतिविधिका केन्द्र बनाउने योजनाअनुरूप कञ्चनपुरको बेलौरी र दोधाराचाँदनीमा सीमा क्षेत्र सहरी विकास कार्यक्रम सञ्चालन हुने भएका छन्। चालू वर्षमा कञ्चनपुरदेखि दार्चुला जोड्ने महाकाली करिडोरका लागि ब्रह्मदेवदेखि तिंकरका लागि एक अर्ब तीन करोड विनियोजन भएपछि आगामी आर्थिक वर्षमा बजेट विनियोजन भएको छैन।

कञ्चनपुरमा निर्माणाधीन ६२ किलोमिटर लामो हुलाकी सडक अधुरै रहेको छ। पाँच वर्षअघि कञ्चनपुरको पुनर्वास नगरपालिका– ११ डोकेबजार–पुनर्वास–बेलौरी–बेलडाँडी हुँदै दैजी जोड्ने ६२ किलोमिटर हुलाकी सडक अझै निर्माण सम्पन्न भएको छैन। कञ्चनपुरमा समेत सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरणका लागि पाँच अर्ब ९० करोड, उखु किसानको अनुदानका लागि ८१ करोड र प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम तीन अर्ब ४५ करोड र सातै प्रदेशमा  बिजनेस इन्कुबेस सेन्टर २६ करोड र सबै प्रदेशमा डाएलाइसिस मेसिन खरिदका लागि २० करोड बजेट विनियोजन भएको छ। यसबाट कञ्चनपुरसमेत लाभान्वित हुनेछन्।