गठबन्धनमा तेल–मट्टीतेल मिश्रण


लेखक : BP Regmi      ५ महिना अगाडि मा प्रकाशित     
गठबन्धनमा तेल–मट्टीतेल मिश्रण
author-image

यज्ञप्रसाद शर्मा

कांग्रेसजस्तो देशव्यापी संगठन भएको दलले टुटेफुटेका र सिद्धान्तविहीन पार्टीलाई बोक्नु नै मुलुकको दुर्भाग्य हो ।

स्थानीय चुनाव नजिकै छ। राजनीतिक दलहरू चुनावी एजेन्डा लिएर जनताको घरआँगनमा छन्। आफ्ना योजना, सोच र कार्यक्रम सुनाएर भोट बटुलिरहेका छन्। चुनावमा साना ठूला दलहरू छाती खोलेर चुनावरूपी पोखरीमा हेलिएका छन्। तर, सत्तामा भएका दलहरू चाहिँ गठबन्धनको छाताभित्र ओत लागेका छन्। सरकारी सुविधा र आश्वासन बाँड्दै, सबै पद जित्ने धम्की दिइरहेका छन् तर यथार्थमा थरथरी कापिरहेका छन्। केन्द्रीय नेतृत्वले गठबन्धनको छाता अढ्याउन खोजे पनि निर्वाचनको दिनसम्म टिकाउन सक्ने सम्भावना छैन।

गठबन्धनका उम्मेदवारविरुद्ध गठबन्धनकै दलका उम्मेदवार खडा भएका छन्। कसैले लालटिन बालिरहेका छन्, कोही भुइँकटहर र कलश बोकेर कुदिरहेका छन्। कोही त पार्टीकै चुनाव चिह्न लिएका उम्मेदवार बनेका छन्। यस निर्वाचनमा नेपाली कांग्रेसले सत्ताको ध्याउन्नमा लागेर संगठन कमजोर बनाएको देखिँदैछ। भुइँको टिप्दा गोजीको पोखिएजस्तै। कांग्रेसजस्तो देशव्यापी संगठन भएको दलले टुटेफुटेका र आग्रहबाट बनेका सिद्धान्तविहीन पार्टीलाई बोक्नु नै मुलुकको दुर्भाग्य हो। यसले अहिले कांग्रेसलाई विवादमा फसाएको छ। चुनावपछि यो गलपासो बन्ने खतरा छ।

अचम्म कांग्रेसलाई शत्रु देख्ने दलहरू नै गठबन्धनको छाताभित्र अनुहार छिराएर हाँसिरहेका छन्। पार्टी सभापति शेरबहादुर देउवालाई उकासेर गठबन्धन गर्न र कांग्रेसलाई कमजोर बनाउन सक्नु उनीहरूको सफलता हो। सत्ता जोगाउने नाममा गरिएको गठबन्धनले कांग्रेस सांगठनिक रूपमा कमजोर बनेको छ। विवाद, तनाव र आरोप प्रत्यारोपको शृंखला थपिएको छ। भर्खरै भारी मतका साथ सभापतिमा विजयी देउवालाई एकाएक रक्षात्मक बनाइदिएको छ। निर्वाचनको परिणाम कस्तो आउला त्यो भविष्यको गर्भमा छ। तर, गठबन्धनको फन्दामा फसेको कांग्रेस उम्मेदवारीदेखि नै कमजोर बन्यो। परिणाममा बलियो हुने सम्भावना छैन।

विगतको चुनावको परिणामले अहिलेको सबैभन्दा ठूलो दल नेकपा एमाले हो। यसले ४१.५ प्रतिशत पद हात पारेको थियो। हुन त एमालेको २० प्रतिशत हिस्सा लिएर नेकपा (एकीकृत समाजवादी) नामको नयाँ दल बनेको छ। त्यस आधारमा २० प्रतिशत अंश घटाउने हो भने पनि ३३.२ प्रतिशत पदहरू नेकपा एमालेमा हुन्छ। त्यति गर्दा पनि यो सबैभन्दा ठूलो पार्टी हो। तर, स्थानीय तहमा विभाजनको असर पाँच प्रतिशत जति मात्र छ। त्यही पद संख्याका आधारमा कांग्रेस दोस्रो, नेकपा (माके) तेस्रो, एकीकृत समाजवादी चौथो, जनता समाजवादी पाँचौं र लोकतान्त्रिक समाजवादी छैटौं दलका रूपमा थिए। सातौं र आठौं दल क्रमशः राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चा थिए। अब यसलाई वर्तमानको उम्मेदवारीसँग तुलना गरौं। उम्मेदवारीमा पनि एमाले पहिलो छ। त्यसको आधारमा आगामी स्थानीय चुनावपछि एमाले पहिलो र नेपाली कांग्रेस दोस्रो दल हुने सम्भावना छ। एमाले अझ सुदृढ र कांग्रेस अझ कमजोर हुने सम्भावना छ।

अब उम्मेदवारीको अवस्था विश्लेषण गरौं। यस पटकको स्थानीय चुनावमा विभिन्न दलबीच तालमेल वा गठबन्धन बनेको छ। तसर्थ, प्रमुख दुई पदको विश्लेषण गरिएको छ। नेपालमा ७ सय ५३ स्थानीय तहमा पहिलो र दोस्रो गरी १ हजार ५ सय ६ पद छन्। एमालेले सबैभन्दा धेरै १ हजार ४ सय ६९ अर्थात् ९८ प्रतिशत पदमा उम्मेदवारी दिएको छ। नेपाली कांग्रेसले ८१ प्रतिशत पदमा उम्मेदवारी दिएको छ। एमालेभन्दा २ सय ५१ पद (१७ प्रतिशत) कममा। तेस्रोमा नेकपा (माके) र चौथोमा राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवारी छ। उनीहरूले क्रमशः ६६ र ६५ प्रतिशत पदहरूमा दाबी गरेका छन्। एमाले फुटाएर बनाएको एकीकृत समाजवादीले ४६ र जनता समाजवादीले ४३ प्रतिशत पदमा दाबी प्रस्तुत गरेका छन्। राष्ट्रिय राजनीतिमा बेलाबेलाको देखिने लोकतान्त्रिक समाजवादी पार्टी अलि पछि छ।

मानिसहरू व्यंग्य गर्दै भन्दैछन्, ‘यो गठबन्धन तोरीतेल र मट्टीतेलको मिश्रण हो। यसबाट न तरकारी पकाउन भुटुन चल्छ, न अँध्यारो भगाउन दियो जल्छ।’

तराईमा आधारित जनमत पार्टी र पहाडमा सक्रिय मंगोल नेसनल अर्गनाइजेसनले उसलाई उछिनेको छ। जनमत पार्टीले २३, मंगोल नेसनल अर्गनाइजेसनले २२ र लोकतान्त्रिक समाजवादीले २१ प्रतिशत पदहरूमा उम्मेदवारी दिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी यसपटक निकै आशावादी देखिएको छ। जनमत पार्टी र मंगोल नेसनल अर्गनाइजेसनको पनि उत्साहजनक प्रस्तुति छ। राष्ट्रिय प्रजातन्त्र पार्टीको संगठन र प्रभाव देशभरि छ। उसले उम्मेदवारीमा चौथो हैसियत देखाएको छ। मौका हेरेर विभिन्न ठाउँमा विभिन्न दलसँग तालमेल गरेको छ। विगतभन्दा धेरै स्थानमा जित्ने रणनीतिमा देखिन्छ। विभाजित भएर शक्ति घटेजस्तो देखिएको छैन।

अब गरौं, गठबन्धनको गाँठी कुरा। कसैले बोकेर जंघार तारेको बाछो अर्को खोलोमा एक्लै हेलिने हिक्मत गर्दैन। कांग्रेस यस्तै अवस्थामा छ। विगतमा माओवादी केन्द्रसँग हातेमालो गर्दै स्थानीय चुनावको जंघार तरेको कांग्रेसले यसपटक अरू तीनसहित पाँचदलीय गठबन्धन बनाएर चुनावमा उत्रिएको छ। तर, गठबन्धन गरेको पनि त्यो सीमित स्थानमा खासगरी नेताका आफन्त व्यवस्थापन गर्न गठबन्धनको शक्ति प्रयोग गरिएको छ। धेरै ठाउँमा गठबन्धनका दलहरू नै प्रतिस्पर्धामा उत्रिएका छन्। गठबन्धनका चार ठूला दलका ३ हजार ५ सय ५९ र राष्ट्रिय जनमोर्चाका १ सय ३२ उम्मेदवारहरू छन्। यसलाई जोड्दा ३ हजार ६ सय ९१ हुन्छ। यो संख्या निर्धारित पदभन्दा झन्डै अढाइ सय प्रतिशत बढी हो।

गठबन्धनका सबैलाई भाग दिँदा उम्मेदवारी कम स्थानमा पाइन्छ। कम स्थानमा उम्मेदवार बनेपछि कम सिट संख्यामा जितिन्छ। महŒवपूर्ण कुरो गठबन्धनका कारण धेरै कार्यकर्ता अवसरबाट वञ्चित भए। अवसर नपाएपछि पलायन भए। तीमध्ये कतिपयले गठबन्धनविरुद्ध नै स्वतन्त्र उम्मेदवारी दिए। यो आफैंमा गठबन्धनको विरोधमा व्यक्त भएको असन्तुष्टि हो। गठबन्धनमा आबद्ध दलबीच गाली गरागरको अवस्था चर्किएको छ। एकअर्काविरुद्ध क्रियाशील छन्। केही दिनअघि विराटनगरमा गठबन्धनको तर्फबाट पत्रकारसँग भेटघाट थियो। हरेकले एकअर्काप्रति आशंका र आरोप प्रत्यारोप गरे। गठबन्धनले पाँच दललाई बलियो होइन, अझ कमजोर बनाएको रहेछ। यसको असर चुनावपछि अझ देखिएला।

गठबन्धनविरुद्ध एमाले एक्लै चुनावी मैदानमा छ। कतिपय ठाउँमा विभिन्न दलसँग वा राजनीतिक समूहसँग स्थानीय रूपमा तालमेल गरेको छ। तर, आफ्नै घोषणापत्र लिएर हुंकारका साथ मैदानमा छ। त्यसैले त्यस पार्टीको पक्षमा जनलहर छ। विभिन्न दल त्यागेर कार्यकर्ता एमाले प्रवेश गरिरहेका छन्। संगठनभन्दा पद र कामभन्दा सम्मान खोज्ने माधव नेपालहरू कांग्रेसको गठबन्धनमा गएकाले एमालेलाई झन् खँदिलो बनाएको छ। जताततै उत्साह छ। चुनावपछि अझ सशक्त भएर आउने संकेत देखिँदैछ। अवस्था यस्तो देखिँदैछ, जनताले एमालेसँग मात्र आस गरेका छन्। अरू दल एमालेसँग प्रतिस्पर्धामा आउन सकेनन्। पाँच दल जुटेर बनेको गठबन्धन आफैंमा कमजोर छ। प्रतिस्पर्धामा कांग्रेस र एमाले आमनेसामने हुनुपर्ने हो। जनताले एउटाको विरुद्ध अर्कोलाई छान्न पाउनुपर्ने हो। तर कांग्रेस गठबन्धनको कुम्लो बोकेर सही नसकी चुनावमा घस्रिरहेको छ। छुट्टै अस्तित्व देखाउन सकेन। सत्ता साझेदार दलहरूको लहैलहैमा गठबन्धनको छाता बोक्न पुगेको छ। कार्यकर्ताको आलोचनाको घेरामा छ। आपसी कलहको भुँमरीमा क्रमशः फसेर कमजोर बनिरहेको छ।

यो सत्ता गठबन्धन सैद्धान्तिक होइन। मानिसहरू व्यंग्य गर्दै भन्दैछन्, ‘यो गठबन्धन मट्टीतेल र तोरीतेलको मिश्रण हो। यसबाट न तरकारी पकाउन भुटुन चल्छ, न अँध्यारो भगाउन दियो जल्छ।’ हुन पनि हिजो एक समयमा टाउकाको मोल तोक्ने र तोकिने यहीँ छन्। वर्तमान संविधान जारी गर्ने  र जलाउने यहीँ छन्। संघीयता मान्ने र नमान्ने दुवै छन्। संसदीय राजनीतिलाई आदर्श ठान्ने र संसदीय राजनीतिको चरम विकृतिका वाहक यही छन्। संसद्मा फ्लोर क्रस गर्ने र अध्यादेशबाट दल बनाउनेहरू यही छन्। केन्द्रमा गठबन्धन गर्ने तर तलकाले नमान्ने सांगठनिक अराजता छ।

गठबन्धन भनिएको छ, तर तिनै दलले पदभन्दा अढाइ सय प्रतिशत बढी उम्मेदवार उठाएका छन्। नेताहरू ती कार्यकर्ताप्रति औंलो ठड्याउनसम्म सक्दैनन्। चुनावमा साझा घोषणापत्र छैन। माओवादी केन्द्रको त पार्टीको घोषणापत्र पनि छैन। जनाधार खुस्किएकाहरूलाई बोक्न बनेको सत्तास्वार्थको यो गठबन्धन लोकतन्त्रको चरम उपहास हो। स्वच्छ निर्वाचन पद्धतिविरुद्ध हो। यसले ती दललाई फरक त्यति पर्दैन, जसको अभीष्ट चुनावमा केही स्थान जितेर अस्तित्व रक्षा गर्नुमा सीमित छ। तर, संसदीय व्यवस्थाको मसिहा र प्रजातान्त्रिक समाजवादको अनुयायी कांग्रेसजनका लागि भने इतिहासमा सबैभन्दा लज्जास्पद अवस्था हो। सबैभन्दा बढी घाटा उनीहरूलाई नै हुनेवाला छ।


Share via
Copy link
Powered by Social Snap